२०८१ बैशाख ७ , शुक्रवार

भारतको राष्ट्रपतिमा पहिलो आदिवासी महिला

सुनाखरी न्युज/काठमाडौं । भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मू निर्वाचित हुनुभएको छ । उहाँ १५ औँ राष्ट्रपतिका रूपमा निर्वाचित हुनुभएको हो ।

 

सत्तारुढ भारतीय जनता पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवार मुर्मुले विपक्षी दलका यसवन्त सिन्हालाई पराजित गर्दै विजयी हुनुभएको हो । जुलाई २४ मा राष्ट्रपति रामनाथ कोभिन्दको कार्यकाल सम्पन्न भएपछि विजयी मुर्मुले जुलाई २५ मा राष्ट्रपतिको पदभार सम्हाल्नुहुनेछ । ६४ वर्षीया मुर्मूको जन्म उडिसा राज्यमा भएको हो।

 

उहाँ भारतको पहिलो आदिवासी महिला राष्ट्रपति बन्नुभएको छ । उहाँ सन्थाल समुदायकी हुनुहुन्छ । यसै गरी उहाँ भारतको दोस्रो महिला राष्ट्रपति हुनुहुन्छ । यसअघि प्रतिभा पाटिल भारतको पहिलो महिला राष्ट्रपति निर्वाचित हुनुभएको थियो । उहाँले २०१५ देखि २०२१ सम्म झारखण्ड राज्यको नवौं राज्यप्रमुखको रूपमा काम गर्नुभएको छ । राज्य राजनीतिमा प्रवेश गर्नुअघि मुर्मुले विद्यालय शिक्षकको रूपमा काम सुरु गर्नुभएको थियो ।