२०८१ बैशाख १२ , बुधवार

१० वस्तुको आयातमा लगाएको प्रतिबन्ध हटाउन आग्रह

सुनाखरी न्युज/काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघको एक प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद वडूलाई भेटेर सरकारले १० वस्तुको आयातमा लगाएको प्रतिबन्ध अविलम्ब खारेज गर्न आग्रह गरेको छ ।

 

उक्त प्रतिबन्धले अनधिकृत आयात बढ्दा सरकारले राजस्व गुमाएको तर हुन्डी जस्ता गैरकानुनी माध्यमबाट विदेशी मुद्रा बाहिरिइरहेको वा रेमिट्यान्स अनौपचारिक माध्यमतर्फ गइरहेको भन्दै संघले प्रतिबन्ध खारेज गर्न माग गरेको हो । कतिपय वस्तु आयातका लागि एलसी खोल्दा ५० र १०० प्रतिशत नगद मार्जिन राख्नुपर्ने व्यवस्था पनि हटाउन संघले माग गरेको छ । यसले व्यवसायको लागत बढाएको संघको भनाइ छ । डिएपी, टिटी जस्ता माध्यमबाट भुक्तानी गर्दा निर्यातकर्ताले एलसीको भुक्तानीमा भन्दा बढी छुटमा माल÷वस्तु उपलब्ध गराउने हुँदा त्यस्ता माध्यमबाट भुक्तानी गर्न लिनुपर्ने संघको माग छ ।

 

यसो गर्दा थोरै मात्रामा भए पनि विदेशी मुद्रा पलायन रोक्न मदत पुग्ने संघको भनाइ छ । सो अवसरमा संघले उधारो उठाउने ऐन निर्माण र कालोबजारी ऐन संशोधनको आवश्यकता, तेस्रो मुलुकमा निर्मित वस्तु भारतबाट आयात गर्न दिनुपर्ने लगायत विषय उठाएको छ । मन्त्री बडूले आयातमा लागेको प्रतिबन्धको अवधि अरु नथप्ने विषयमा आफू सकारात्मक रहेको र संघले उठाएका विषयमा उपयुक्त कदम चालिने बताउनुभएको छ । प्रतिनिधिमण्डलमा संघका अध्यक्ष सुनिलकुमार वंशल, उपाध्यक्ष विनोदकुमार सेठिया, महासचिव मदन मित्तल, कोषाध्यक्ष, कुमार कार्की तथा कार्यसमिति सदस्यद्वय आकाश गोल्छा र प्रभातकुमार सर्राफ सहभागी हुनुहुन्थ्यो ।