२०८१ बैशाख १३ , बिहिवार

वायुसेवा निगमले तिर्‍यो दुई कोषलाई रु एक अर्ब ३५ करोड

सुनाखरी न्युज/काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ऋण दायित्वको किस्ताबापतको रु एक अर्ब ३५ करोड भुक्तानी गरेको छ ।

 

 

निगमले डेढ वर्षको दौरानमा तिर्न नसकेको किस्ता रकम निगमको नयाँ व्यवस्थापन आएसँगै आठ महिनामा आर्थिक सुधार भएकाले उक्त रकम भुक्तानी गर्न सफल भएको निगमका एक उच्च अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “डेढ वर्षको दौरानमा तिर्न नसकेको रकम नयाँ नेतृत्व आएको आठ महिनाभित्रै तिर्न सफल भएको छ । फ्लाइट अकुपेन्सी बढ्नुका साथै उडान गन्तव्य पनि विस्तार भएकाले निगमले ऋण दायित्व भुक्तानी गर्न सफल भएको हो ।” निगमले पछिल्लो पटक गत असार ३० गते कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिदका निम्ति लिएको ऋणको किस्ताबापतको रकम तिरेको निगमले जनाएको छ ।

 

निगमका प्रवक्ता अर्चना खड्काका अनुसार कर्मचारी सञ्चय कोषलाई न्यारोबडी जहाज खरिदबापतको रु ४५ करोड र वाइडबडी जहाज खरिदबापतको रु ४५ करोड गरी जम्मा रु ९० करोड किस्ताबापतको रकम भुक्तानी गरिएको छ । त्यसैगरी नागरिक लगानी कोषको हकमा पनि वाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको किस्ताबापतको रु ४५ करोड भुक्तानी गरिएको छ । कोभिड महामारीका कारण निगमको आम्दानी खुम्चिएकाले समयमै किस्ता तिर्न नसकेको निगमले उल्लेख गरेको छ ।

 

कोभिड महामारी सहज भएसँगै स्वास्थ्य मापदण्डमा आएको विश्वव्यापी खुलापनले अन्तर्राष्ट्रिय उडानमा सहजता, सिट अकुपेन्सी, गन्तव्य विस्तार आदि कारणले निगमको आम्दानीमा सुधार आएकाले किस्ता तिर्न सफल भएको निगमले जनाइएको छ ।