२०८१ बैशाख ८ , शनिवार

‘चिया पार्टी’दर्ताका लागि आएपछि निर्वाचन आयोग चकित

सुनाखरी न्युज/ काठमाडौं । निर्वाचन आयोगमा दर्ताका लागि पुगेको एक पार्टीलाई आयोगले दर्ता गर्न नसक्ने भन्दै फर्काइदिएको छ । आयोगमा दर्ता गर्न निवेदन, आवश्यक कागजपत्र बोकेर पुगेको ‘चिया पार्टी’ लाई आयोगले दर्ता नगरी फिर्ता पठाइदिएको हो ।

 

पार्टीको नाम हलुका किसिमको भएको र पार्टीको झण्डामा गाँजाको पात राखेपछि आयोगले दर्ता गर्न नमानेको सो दलका महामन्त्री रविकिरण हमालले जानकारी दिए । उनले भने–‘केहीदिन अघि हामी पार्टी दर्ताका लागि आयोग गएका थियौँ । आयोगका पदाधिकारीसँग कुरा गर्दा पार्टीको नाम हलुका जस्तो भयो भन्नुभयो । झण्डामा गाँजाको सात वटा पात राखेका थियौँ । सो कारण देखाउँदै उहाँहरुले दर्ता गर्न नसक्ने पत्र काट्नुभयो ।’सडकदेखि दरबारसम्म सबैतिर चिया पाक्ने गरेको र चियाले तल्लो तप्काका मान्छेदेखि माथिल्लो तहका मान्छेहरूलाई समेट्ने भएकोले पार्टीको नाम चिया पार्टी राखिएको हमालले जानकारी दिए । चिया सामाजिकीकरण गर्ने, सबैको समान पहुँचको माध्यम भएकोले पनि चिया पार्टी गठन गरिएको उनले बताए ।

 

आयोगले चियाको नाममा पार्टी दर्ता गर्न नमानेपछि पार्टीको नाम परिवर्तन गरेर एक दुई दिनभित्रै आयोगमा अर्को नाममा पार्टी दर्ताका लागि जाने हमालले बताए ।