२०८० चैत्र १५ , बिहिवार

एनआईसी एशिया बैंकको नाफा रु. ४.५३ अर्ब

सुनाखरी न्युज/ काठमाडौं । २५ वर्षअघि आजकै दिन सम्पूर्ण सरोकारवालाको पहिलो रोजाइको बैंक बन्ने दृढ संकल्पका साथ सुरु भएको एनआईसी एशिया बैंक देशकै सबैभन्दा सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंक बन्दै रजत जयन्ती मनाउन गइरहेको छ।

 

यस क्रममा बैंकप्रति अनवरत रुपमा अगाध स्नेह एवं भरोसा दर्शाइ सबैको ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ बन्न अतुलनीय योगदान दिने समस्त ग्राहकवर्ग, नियमनकारी निकाय, सेयरधनी, कर्मचारीलगायत सम्पूर्ण सरोकारवालाप्रति बैंकले कृतज्ञता प्रकट गरेको छ। ‘नेपालको वित्तीय क्षेत्रमा आज हामी जहाँ छौँ, जे छौँ र जस्तो आकारका छौँ, त्यसको सम्पूर्ण श्रेय यहाँहरुलाई नै जान्छ’, बैंकद्वारा विज्ञप्तिमा भनिएको छ, ‘यसका साथै आगामी दिनहरुमा अझ विश्वस्तरिय, अत्याधुनिक, प्रविधिमैत्री, ग्राहकमैत्री तथा अनुकरणीय अनुभवसहितको बैंकिङ सेवा एवं सुविधाहरु प्रदान गर्दै सबै सरोकारवालाहरुको पहिलो रोजाइको बैंक बन्ने अठोट गर्दछौँ।’

बैंकले यस २५ वर्षको यात्रामा आफ्नो सेयरधनीहरुको Optimum Wealth Maximization गर्ने उद्देश्यलाई केन्द्रमा राखी आर्थिक वर्ष २०५६–५७ मा १ कित्ताबराबरको साधारण सेयरमा लगानी गर्ने सेयरधनीको हालसम्म आइपुग्दा उक्त सेयर संख्या १३.१२ कित्ता पुगेको जसको प्रतिफल आजको बजारमूल्यमा रु. ९ हजार ५२०.९७ बराबर प्रदान गर्न सफल भएको छ। त्यसैगरी देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पुर्याउन उत्तरदायी बैंकिङको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल रु. १९ अर्ब ९२ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत अर्थिक वर्ष २०७८–७९ मा मात्रै रु. ३ अर्ब ४१ करोडभन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाई समग्र वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा स्थापित हुन सफल भएको छ।

 

यसका साथै मुलुकभर फैलिएका शाखा सञ्जालहरुमार्फत आफ्ना लाखौँ ग्राहकमाझ गतिशील बैंकिङ सेवा प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैंक लिमिटेडले गत आव २०७८–७९ को चौथो त्रयमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। बैंकले आव २०७८–७९ मा खुद मुनाफातर्फ रु. ४.५३ अर्ब आर्जन गर्न सफल भएकोे छ। जुन वार्षिक विन्दुगत आधारमा ३९ प्रतिशतको वृद्धि हो। यसैगरी बैंकको स्व–पुँजीमा प्रतिफल (आरओई) १९.६५ प्रतिशत रहेको छ। जुन २६ वटै वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ। यसका साथै प्रतिसेयर आम्दानी (ईपीएस)तर्फ रु. ३९.१३ आर्जन गर्न बैंक सफल भएको छ। जुन २६ वटै वाणिज्य बैंकहरुमध्ये सबैभन्दा बढी रहेको अनुमान बैंकले गरेको छ।

 

कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई निष्क्रिय कर्जालाई ०.४९ प्रतिशतमा सीमित राख्न बैंक सफल भएको छ। त्यसैगरी बैंकको कुल पुँजी पर्याप्तता अनुपात १३.५१ प्रतिशत र Tier 1 Capital Adequacy Ratio (Including Capital Conservation Buffer) ८.९३ प्रतिशत पुर्याई पुँजी व्यवस्थापन तर्फ पनि उत्साहजनक नतिजा हासिल गर्न बैंक सफल भएको छ। बैंकले आव २०७८–७९ को चौथो त्रयमाससम्ममा १२ लाखभन्दा बढी नयाँ खाताहरु थप गर्दै ४० लाखभन्दा बढी खाताहरुमार्फत ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ। यसै त्रयमाससम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८६ प्रतिशत साना तथा मझौला र रिटेल कर्जाहरु कर्जा विस्तार गरेकोे छ। साना तथा मझौला कर्जा लगानीमा मुलुकका अन्य वाणिज्य बैंकहरुभन्दा एनआईसी एशिया अग्रणी स्थानमा रहेको बैंकको अनुमान रहेको छ।

 

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरु, ४७३ एटीएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ। देशको कुल जनसंख्यामध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रुपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई एनआईसी एशिया बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ। वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ।

 

देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरु स्थापना गरी बैंकिङ सेवा प्रवाह गर्दै आएको छ।