२०८१ बैशाख ७ , शुक्रवार

हुँदै नभएको जग्गा किर्ते कागजातका आधारमा बिक्रि गरि ठगी गर्ने पक्राउ

सुनाखरी न्युज/ काठमाडौं । प्रहरीले बनेपाबाट जग्गाको कागजात किर्ते गरेर ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। धादिङ जीवनपुर-५ घर भई काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-९ बस्दै आएका ३७ वर्षीय रविप्रसाद रेग्मीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रराज जोशी जानकारी दिए।

 

प्रहरीले उनलाई सोमबार बनेपा नगरपालिका-९ बाट पक्राउ गरेको हो। रेग्मीले किन्ने व्यक्तिहरूलाई बनेपा नगरपालिका-१ चाइना टाउनमा रहेको जग्गा आफ्नो नाममा छ भनेका थिए। तर त्यहाँको जग्गा ज्ञानबहादुर खड्गीलगायत छ जनाको नाममा छ। जग्गा बेच्छु भनेर उनले नक्कली कागजात पनि बनाए। उनले देखाएको कागजातमा भएको जग्गा भने कतै नभएको प्रहरी उपरीक्षक जोशीले बताए। ‘रेग्मीले खड्गी लगायतको जग्गा भएको स्थान पीडितलाई देखाएछन्,’ प्रहरी उपरीक्षक जोशीले भने, ‘उक्त जग्गा देखाएर आफूले प्लटिङ गरिरहेको भनी पीडितलाई विश्वासमा पारेका रहेछन्। कागजमा ७३ वटा कित्ताकाट गरेको भेटिएको छ। तर उक्त कित्ताकाट गरेको जग्गा कतै पनि छैन।’

प्रहरी उपरीक्षक जोशीका अनुसार रेग्मीले‍ चार जनालाई ठगेका छन्। रेग्मीले बैना बापतको रकम लिएर हुँदै नभएको जग्गाका लागि नक्कली राजीनामा कागज, घर बाटोको सिफारिस पत्र, जग्गा धनी दर्ता प्रमाण पुर्जा समेत बनाएको खुलेको छ। यस्तै, उक्त नक्कली कागजातको आधारमा जग्गा पास गरेर मालपोत कार्यालयबाट समेत नक्कली जग्गा धनी दर्ता प्रमाण पुर्जा किर्ते बनाएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार रेग्मीले पीडितसँग एक करोड २१ लाख ५० हजार रुपैयाँ ठगी गरेका छन्। प्रहरीले किर्ते कागजात बनाउन सहयोग गर्ने पनौती नगरपालिका-९ बस्ते ४५ वर्षीय राजन थापा र उनकी ४२ वर्षीया श्रीमती सीताकुमारी थापाको कार्यालयबाट प्रमाणका विभिन्न उपकरणहरू बरामद गरेको छ। उनीहरू फरार छन्।

 

रेग्मीमाथि अनुसन्धान गर्न प्रहरीले काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट हिरासतमा राख्न अनुमति लिएको छ। यस घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको कार्यालयले जनाएको छ। रेग्मीमाथि २०६८ साल असार १४ गते जिल्ला प्रहरी कार्यालय कास्की र २०६९ साल चैत १० गते जिल्ला प्रहरी परिसर काठमाडौंमा ठगी मुद्दा दर्ता भएको प्रहरी अभिलेखबाट समेत खुल्न आएको कार्यालयले जनाएको छ।