२०८१ बैशाख ७ , शुक्रवार

फेसबुकमा नयाँ फिचर, एउटा अकाउन्टबाट ५ प्रोफाइल बनाउन सकिने

सुनाखरी न्युज/ काठमाडौं –

फेसबुक प्रयोगकर्ताका लागि मेटा कम्पनीले एउटा ठूलो उपहार दिएको छ । अब तपाईं एउटै फेसबुक अकाउन्टबाट अधिकतम पाँचवटा प्रोफाइल बनाउन सक्नुहुनेछ । उक्त फिचरको उद्देश्य फेसबुक प्लाटफर्ममा प्रयोगकर्ताहरुको इन्गेजमेन्ट बढाउनु हो ।

 

फेसबुकको यो नयाँ फिचर हाल परीक्षणका क्रममा छ । रिपोर्ट अनुसार परीक्षणमा सामेल बिटा प्रयोगकर्तालाई उनीहरुको आफ्नो एउटा अकाउन्टबाट पाँचवटा प्रोफाइल बनाउने सुविधा प्राप्त भएको छ । खास कुरा त के भने अतिरिक्त प्रोफाइलमा प्रयोगकर्ताले आफ्नो वास्तविक नाम बताउने आवश्यकता पनि पर्नेछैन ।

 

अर्थात् तपाईंले आफ्नो पहिचान लुकाएर कुनै पोस्टमा कमेन्ट गर्न सक्नुहुनेछ । त्यसैले यो फिचर विवादित हुनसक्ने र यसमा स्पाममा वृद्धि हुने सम्भावना छ । मेटाका अनुसार अतिरिक्त प्रोफाइलहरुले पनि फेसबुकका नीति नियमहरुको पालना गर्नुपर्नेछ । यसको अर्थ यदि तपाईं आफ्ना अतिरिक्त फेसबुक प्रोफाइलहरुबाट नियमको उल्लंघन गर्नुहुन्छ भने त्यसले मुख्य अकाउन्टलाई पनि असर गर्नेछ ।

 

नयाँ फिचरको सहयोगबाट प्रयोगकर्ताहरुले फरक–फरक पहिचानको साथमा विभिन्न विधाका फिडहरु प्राप्त हुनेछन् । अर्थात् यदि कुनै प्रयोगकर्तालाई खेल तथा ट्राभल दुबैमा रुचि छ भने उसले दुबै विधाको हिसाबबाट प्रोफाइल बनाउन सक्नेछ र मानिसहरुलाई फलो गर्न सक्नेछ । स्मरण रहोस् मेटाले गत महिना मेटाभर्स तथा Web3 का लागि आफ्नो वालेट लन्च गरेको थियो जुन एक विश्वव्यापी भुक्तानी मोड हो ।

 

मेटाले उक्त पेमेन्ट सिस्टमको नाम मेटा पे राखेको छ जसका माध्यमबाट मेटाभर्सका अलावा साधारण पेमेन्ट समेत गर्न सकिनेछ । मेटा पेलाई फेसबुक पेकै नयाँ अवतार मानिएको छ । मेटा पेका विषयमा कम्पनीका सीईओ मार्क जुकरबर्गले एक फेसबुक पोस्टमार्फत् भनेका छन् Web3 को दुनियामा स्वामित्वका विषयमा एक ठूलो लडाइँ छ र यो त्यत्तिकै महत्वपूर्ण पनि छ ।

 

आउने दिनहरुमा मानिसहरुले डिजिटल कपडा पहिरिनेछन् । मेटाभर्समा शपिङ पनि हुनेछ, जसका लागि एक पेमेन्ट सिस्टमको आवश्यकता छ । मेटा पेले सोही भुक्तानीलाई सम्भव बनाउनेछ ।  –एजेन्सी