२०८० चैत्र १६ , शुक्रवार

स्टेचरमा नै नवजात शिशुको जन्म…

सुनाखरी न्युज/ कालिकोट । कालिकोटको नरहरिनाथ गाउँपालिका–६ माल्कोटमा रहेको उपस्वास्थ्यचौकी बन्द भएको छ । गाउँपालिकाले करारका स्वास्थ्यकर्मी हटाउँदा उपस्वास्थ्यचौकी बन्द भएको हो ।

 

“गाउँपालिकाले करारका स्वास्थ्यकर्मी हटाएछ, दुई स्थायी स्वास्थ्यकर्मी पनि बिदामा बसेको सुनियो । एकहप्तादेखि स्वास्थ्यचौकी बन्द छ । उपस्वास्थ्यचौकी बन्द हुँदा सेवाग्राहीलाई समस्या भएको छ”, स्थानीय रामबहादुर बटालाले गुनासो गर्नुभयो । उपस्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा सोमबार गर्भवतीले स्टेचरमा नै नवशिशुको जन्म दिनुभएको थियो । गाउँपालिकाले करारका स्वास्थ्यकर्मी हटाउँदा ‘बर्थिङ सेन्टर’ बन्द भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अम्मर बटालाले जानकारी दिनुभयो । “दुई स्थायी स्वास्थ्यकर्मी बिदामा हुनुहुन्छ । करार कर्मचारी हटाइएको छ”, उहाँले भन्नुभयो, “यसकारण सुत्केरीले चार घण्टासम्म बाहिरै बस्नुपरेको हो ।”

 

उहाँले यसभन्दा अगाडिका करारका स्वास्थ्यकर्मी शान्ति बुढालाई फोन गरेर ती गर्भवतीलाई सेवा दिन आग्रह गरेको र सुत्केरीको ज्यान जोगिएको भनाइ छ । “अहिले आमा तथा नवशिशुको अवस्था सामान्य छ”, उहाँले भन्नुभयो, “ढिलै भए पनि आमा र शिशुको थप निगरानी बर्थिङ सेन्टरमा भइरहेको छ ।”