२०८१ बैशाख ८ , शनिवार

जोरपाटीमा बोरिङ खन्दा ग्यास निस्कियो

सुनाखरी न्युज/ काठमाडौं । काठमाडौंको जोरपाटीनजिकै बोरिङ खन्ने क्रममा ग्यास निस्किएको छ । जोरपाटीबाट सुन्दरीजल जाने बाटोमा रहेको सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा लेदोसहित पानी र ग्यास निस्किएको हो।

 

स्थानीय नगेन्द्रप्रसाद दाहालका अनुसार ३ सय फिटजति खनेपछि एक्कासि विस्फोट भई लेदोसहित ग्यासको मुस्लो निस्किएको हो । बिहान १० बजेदेखि अहिलेसम्म पनि पाइपबाट ग्यासको मुस्लो निस्किरहेको उनले बताए । अहिले उक्त ठाउँमा ग्यासको जस्तो गन्ध फैलिएको दाहालले बताए । ग्यासको मुस्लो तीन तलामाथिसम्म पुगेको पनि उनले बताए । ‘छेउछाउका घरमा धुलाम्मे भएका छन् । बाटोमा राखेका मोटरसाइकल पनि ग्यासबाट निस्किएको धुलोले धुलाम्मे भएका छन्,’ उनले भने ।

 

स्थानीय निर्मल अर्यालका अनुसार अहिले घटनाको वास्तविकता पत्ता लगाउनका लागि खानी तथा भूगर्भ विभागका अधिकारीहरूलाई बोलाइएको छ । प्रहरीले अहिले घटनास्थल वरपर सुरक्षा दिएर सर्वसाधारणलाई आवतजावतमा रोक लगाएको छ ।