२०७९ श्रावण २७ , शुक्रवार

आचरण र व्यवहार परिवर्तनले मात्र पनि सहरी व्यवस्थापनमा ठूलो परिवर्तन ल्याउन सक्छ : प्रमुख शाह

balen

सुनाखरी न्युज/ काठमाडौं । ‘सेवा प्रदायक (सार्वजनिक सेवा क्षेत्रका कर्मचारीहरु) तथा लाभग्राही (सेवा लिने व्यक्तिहरु) को व्यवहारमा परिवर्तन ल्याउन सक्ने हो भने सहरी सेवा तथा सुविधा व्यवस्थापनमा ठूलो परिवर्तन आउन सक्छ । फ्लाई ओभर व्रिज, अण्डर पासजस्ता भौतिक संरचना भोलिका लागि आवश्यक छन् ।

 

आजका लागि भएको अवस्थालाई सुधार गर्न व्यवहार परिवर्तनको खाँचो छ ।’ काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले सहर व्यवस्थापनमा आचरण सुधारको खाँचो देखाउनुभएको छ । आज महानगर क्षेत्रभित्र पूर्वाधार विकासका लागि काम गर्ने कार्यालयका अधिकारीकाविच सम्पन्न भएको पूर्वाधार विकास समन्वय बैठकमा प्रमुख शाहले यस्तो बताउनुभएको हो । ‘सडक, खानेपानी, ढल निकासजस्ता भौतिक पूर्वाधारको सञ्जाल, विजुली, टेलिफोन तथा इन्टरनेट सेवाप्रदायकको तार सञ्जाल, फोहोरमैला व्यवस्थापनजस्ता कामका लागि पहिले सफ्टवेयरमा काम गरौँ । त्यसपछि हार्डवेयरमा काम गर्नुपर्छ ।’ बैठकमा प्रमुख शाहको भनाइ थियो ।

 

‘खानेपानी वितरणका लागि खनिएका वडा १३, १४, १५ र २६ का सडक कहिलेसम्ममा कालोपत्रे हुन्छन? खानेपानीको पाइप विछ्याउन सहमति माग भइआएका वडा २, ३, ४ र ५ को काम कसरी हुँदैछ?’ बैठकमा प्रमुख शाहले, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका अधिकारीहरुलाई प्रश्न गर्नुभएको थियो । त्यस्तै विद्युत प्राधिकरणका अधिकारीलाई, वडा नं. ३ रानीबारी क्षेत्र, वडा ४ को बालुवाटार, विशालनगर, धुम्वाराही क्षेत्र, वडा ५ को हाँडीगाउँ, माली गाउँ, कालो पुल क्षेत्र, वडा २६ को नयाँ बसपार्क क्षेत्रमा विजुलीको तार भूमिगत गरेपछि छोडिएको सडक कहिलेसम्ममा पुनस्र्थापना हुन्छ? भन्ने प्रश्न गर्नुभएको थियो । विजुली भूमिगत गरिएपछि मर्मत गरिएको पैदल मार्ग पनि उबडखाबड छ । यसको सतहलाई कसरी मिलाउन सकिन्छ? उहाँको प्रश्न थियो । यसरी सोधिएका प्रश्नसँगै प्रमुख शाहले महानगरअन्तर्गत गर्नु पर्ने काम तदरुकताका साथ गरिने जानकारी दिनुभयो ।

उपप्रमुख सुनिता डंगोलले, सहरी विकासका काममा समन्वय होस्, अन्यौल नहोस भन्ने उद्देश्य राखेर यस प्रकारको बैठक आयोजना गरिएको बताउनुभयो । ‘साझेदार कार्यालयहरुको चालु आर्थिक बर्षका योजना र बजेटका विषयमा अद्यावधिक हुन पाइयो । कुन काम कसको क्षेत्राधिकारभित्र पर्छ स्पष्ट हुँदै गएको छ । यति नहुँदा महानगरले आफ्नो दायित्वमा नपर्ने विषयमा सेवाग्राहीका अपेक्षा सुन्नुपरेको थियो । बर्खामागर्न सकिने काम बर्खामै गरौँ । अहिले गर्न सकिँदैन भनिएका सडक कालोपत्रेसहितका काम बर्खा सकिनेवित्तिकै गरौँ ।’ उपप्रमुख डंगोलले आग्रह गर्नुभयो ।

बैठकमा प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडयालले बैठकमा उठेका सवालहरु अभिलेखीकरण गरेर मन्त्रालय तथा सम्बद्ध कार्यालयमा पठाइने बताउनुभयो । ‘यी विषयहरु नागरिकलाई जानकारी दिन प्रत्यक्ष प्रसारण गरेका छौँ । सबैको साझा प्रयत्नबाट एकीकृत विकासमा योगदान गरौँ ।’ पौड्यालको जोड थियो । बैठकमा सडक विभाग, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय, विद्युत प्राधिकरणलगायत कार्यालयका अधिकारीहरुले बर्खायाममा सडक कालोपत्रे गर्न नसकिने बताउनुभएको थियो । पाइप तथा विजुलीका तार विछ्याउन खनिएका सडक पानी पर्न छोडेपछि कालोपत्रे हुने उहाँहरुको भनाइ थियो ।

 

सडकको मापदण्ड र अहिलेको अवस्था, ट्राफिक व्यवस्थापनको व्यववहारिक र कानुनी पक्ष तथा प्रविधिजन्य सम्भावना, ढल सञ्जालको मर्मत तथा पुनस्र्थापनाको काम, चोकहरुको सुधार, इन्टरनेट सेवा प्रदायकहरुले टाँगेका तार व्यवस्थापन लगायतका विषयहरु बैठकमा छलफल भएको थियो । सहरमा फैलिएको हैजा र यससँग खानेपानी तथा ढल प्रणालीको सम्बन्ध छलफलको अर्को महत्वपूर्ण विषय थियो । बैठकमा प्रमुख शाहले, पार्किङ् प्रयोजन देखाएर नक्सा स्वीकृत गरिएका तर ती ठाउँ अन्य प्रयोजनमा ल्याइएका घरधनीलाई स्वीकृत नक्साबमोजिम प्रयोग ल्याउन महानगरले ३५ दिने सूचना जारी गरेको जानकारी गराउनुभयो ।

 

विद्युत प्राधिकरण र नेपाल दूर सञ्चार प्राधिकरणका अधिकारीहरुले तार थेग्ने खम्बाको कुरा गरिरहँदा सडक विभागका अधिकारीले ती खम्बा सडकमा छन् भन्ने कुरा नविर्सन आग्रह गर्नुभएको थियो । विकास निर्माण गर्दा होस् या सेवा सुविधा वितरण गर्दा होस्, काममा दोहोरो हुनु भनेको स्रोतको क्षति हो । यो क्षतिलाई बचाउनुपर्छ । अधिकारीहरुको साझा मत थियो । बैठकमा नेपाल दूरसञ्चार प्राधिकरण, सडक विभाग, सडक डिभिजन काठमाडौँ, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, उपत्यका विकास प्राधिकरण, नेपाल विद्युत प्राधिकरण, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालयका प्रमुख तथा प्रतिनिधि सहभागी हुनुहुन्थ्यो । त्यस्तै नेपाल प्रहरी प्रधान कार्यालय, खानेपानी तथा ढल व्यवस्थापन विभागबाट पनि प्रतिनिधित्व थियो ।

 

उपत्यकाको एकीकृत विकासका लागि आपसी सम्बन्ध, आन्तरिक र वाह्य सञ्चार र आपसी सहयोग अपरिहार्य रहन्छ । यसप्रति साझेदार कार्यालय कति जिम्मेवार बन्न सक्छन् । नतिजा त्यसैमा निर्भर रहने देखिन्छ ।