२०८१ बैशाख ७ , शुक्रवार

भूरिलो नेपालद्वारा आयोजित दुई महिने ब्रिजकोर्स सम्पन्न

सुनाखरी न्युज/ काठमाडौं । अनलाईन ई लर्निङ प्लेटफर्म भूरिलो नेपालले एसइइ दिएर बसेका विधार्थीलाई केन्द्रित गरी भर्चुअल माध्यमबाट आयोजना गरेको २ महिने ब्रिजकोर्स कार्यक्रम सम्पन्न भएको छ ।

 

एसइइ दिएका विधार्थीलाई प्रवेशिका परीक्षा उत्तिर्ण गर्न सजिलो होस् भन्ने उद्देश्यले भूरिलो नेपालले गत जेठ २ गतेदेखि ब्रिजकोर्स सुरु गरेको थियो । समापन कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका सहायक प्रोफेसर डा। कृष्ण थापाले ईन्टरनेट र मोबाइल फोनको प्रयोग बढ्दै गएको अवस्थामा अनलाईन ई लर्निङ प्लेटफर्म भूरिलो नेपाल अध्ययनका लागि एक विकल्प बनेको बताए ।

ब्रिजकोर्स कार्यक्रममा ग्रामीण क्षेत्रका विधार्थीहरु पनि जोडिएका थिए । कार्यक्रममा सहभागी लमजुङकी मुना गुरुङले सहयोगी शिक्षक शिक्षिकाको सहयोगले पढाईमा थप सहयोग पुगेको बताइन । म गाउँको विधार्थीलाई कम शुल्कमा सहरकै उच्चस्तरको शिक्षा दिने भूरिलो नेपाललाई धन्यवाद, उनले भनिन् यो संस्थाले आगामी दिनमा पनि हामीलाई सहयोग गर्ने कुरामा विश्वस्त छु ।त्यस्तै महोत्तरीबाट भूरिलोमार्फत ब्रिजकोर्स गरिरहेका अर्का विधार्थी रोहित शाहले आफूले गुणस्तरीय शिक्षा पाएको धारणा व्यक्त गरे ।

 

ब्रिजकोर्स सुरु भएपछि प्रत्येक दिन प्रश्नहरु पनि सोधिएको थियो । प्रश्नहरुको सही उत्तर दिएको आधारमा प्रथम भएका विधार्थी रोहित शाहलाई ५ हजार रुपैयाँ, द्वितिय भएकी मुना गुरुङलाई २ हजार रुपैया र तृतीय भएकी सम्झौता रोकालाई ५ सय रुपैयाँ पुरस्कार उपलब्ध गराईएको थियो । कार्यक्रममा मोबाइल एप्स पनि लन्च गरिएको थियो । कार्यक्रम संस्थाका संयोजक गोबिन्दबहादुर थापा सञ्चालन गरेका थिए ।

 

भूरिलो नेपालले आफ्नो प्लेटफर्ममा आइएलटिएस, कोरियन भाषा लगायतका कक्षाहरु सुलभ शुल्कमा आयोजना गरिरहेको छ ।