२०८१ बैशाख १२ , बुधवार

दैनिक एक फ्लाइट अन्तरिक्षका लागि उडान भर्ने, टिकटको मूल्य करोडौँ

सुनाखरी न्युज/ काठमाडौं –

छुट्टी हुँदा धेरैजसो घुम्न रुचाउँछन् । आफूसँग पैसा छ र छुट्टी पनि लामै छ भने मानिसहरु टाढा वा विदेशसम्मको सयरमा निस्कन्छन् । तर अब घुम्नका पारखीहरुले विदेशभन्दा पनि परको यात्रामा निस्कने मौका पाउने सम्भावना छ ।

 

त्यो दिन टाढा छैन जब वर्षमा ४०० फ्लाइट धर्तीबाट अन्तरिक्षका लागि उडान भर्नेछ अर्थात् औसतमा दैनिक एकभन्दा बढी फ्लाइट । तपाईंलाई लागिरहेको होला, कस्तो वाहियात कुरा गरेको तर तपाईंले यहाँ के थाहा पाउनुपर्छ भने अन्तरिक्षको सयर गर्नका लागि विश्वभरी ८०० भन्दा बढीले अन्तरिक्षको भविष्यको यात्राका लागि टिकटसमेत काटिसकेका छन् । अन्तरिक्ष यात्राका लागि उनीहरुको तालिम पनि जारी छ र उनीहरु चाँडै आफूलाई तयार पार्ने क्रममा छन् ।

 

स्पेस टुरिजमजस्तो महँगो प्रोजेक्टलाई पूरा गर्नका लागि विश्वका तीन सर्वाधिक धनाढ्य अघि बढेका छन् । रिचर्ड ब्रेनसनको कम्पनी भर्जिन ग्यालेक्टिक, जेफ बेजोसको कम्पनी ब्लु ओरिजिन र एलन मस्कको कम्पनी स्पेस एक्स यो दिशामा सफलता पाउने सुरुवाती कम्पनीमध्ये पर्छन् । यसका साथै, अब चीनको एउटा कम्पनी पनि ठूलो योजनासहित अघि बढेको छ । साथै, अन्य थुप्रै देशमा यस विषयमा प्रोजेक्ट चलिरहेको छ ।

 

विश्वका सर्वाधिक धनाढ्य व्यक्ति एलन मस्कको कम्पनी स्पेस–एक्सले सन् २०२१ मा चार व्यक्तिलाई अन्तरिक्षको सयर गराएको थियो । करोडौँको यो यात्रालाई अमेरिकी व्यापारी जार्ड आइज्याकम्यानले स्पोन्सर गरेका थिए र अन्य तीन व्यक्तिलाई भिन्न भिन्न विधाबाट आफूसँगै लैजान छानेका थिए । भर्जिन ग्यालेक्टिक र ब्लू ओरिजिनपछि स्पेस–एक्स तेस्रो यस्तो कम्पनी थियो जसले अन्तरिक्ष पर्यटनका लागि यात्रा प्रदान गर्यो ।

 

के छ भविष्यको तयारी ?

अन्तरिक्षको यात्राका लागि तयारी कुन तहमा जारी छ, यसबारे अन्दाज यो कुरामा लगाउन सकिन्छ कि भर्जिन ग्यालेक्टिक कम्पनीले अन्तरिक्षका लागि सयौँ फ्लाइट लञ्च गर्ने क्षमता हासिल गर्नका लागि यसले दुई एयरक्राफ्ट क्यारियर तयार गरिरहेको छ । भर्जिन ग्यालेक्टिक कम्पनी बेलायती अर्बपति रिचर्ड ब्रान्सनको हो । यी फ्लाइटका लागि मानिसले २ लाख अमेरिकी डलर अर्थात् साढे दुई करोड रुपैयाँमा आफ्नो सिट बुक गरिरहेका छन् ।

 

मानिसहरुमाझ उत्साह र बुकिङको मागलाई मध्यनजर गर्दै सन् २०२५ सम्म कम्पनीले उडानलाई नियमित गरेर वार्षिक २०० सम्म पुर्याउने तयारी गरिरहेको छ ।ब्ल्यु ओरिजिनले अघिल्लो महिनासम्म यस्ता पाँचवटा यात्रा पूरा गरिसकेको छ । स्पेस–एक्स कम्पनी भविष्यमा यस्ता चार थप यात्राको तयारीमा जुटेको छ । जापानका उद्योगपति युसाकु मेइजावाले सन् २०२३ का लागि स्पेस–एक्सबाट एउटा उडान बुक गरेका छन् र ८ अन्य व्यक्तिलाई आफूसँग जान आमन्त्रण गरेका छन् । भर्जिन ग्यालेक्टिकका अनुसार भविष्यको यात्राको तयारी बेजोड छ ।

 

८ सयभन्दा बढी मानिस प्रतीक्षारत छन् । स्पेस–एक्सको योजना भविष्यमा अन्तरिक्षका साथै चन्द्रमा र मंगल ग्रहमा पनि फ्लाइट पठाउने हो । साथै, त्यहाँ मानिसहरुको बसोबासको योजनाबारे पनि एलन मस्कले थुप्रैपटक कुरा गरिसकेका छन् । हाल अन्तरिक्ष यात्राका लागि लगभग ४ करोड रुपैयाँसम्म खर्च लाग्न सक्छ तर कम्पनीले छोटो यात्रा र पुनः प्रयोग गर्न मिल्ने स्पेस यान तयार गरेर यो खर्चलाई लगभग दुई करोडसम्म झार्न सकिने बताइएको छ ।

 

औसतमा दैनिक एक फ्लाइट अन्तरिक्षका लागि निस्कनेछ

भर्जिन ग्यालेक्टिकको योजना अनुसार सन् २०२५ सम्म हरेक वर्ष ४०० टुरिस्ट फ्लाइट्स अन्तरिक्षमा पठाउन लायक तयारी गर्न सकियोस् । पछिल्लो १५ वर्षदेखि कम्पनी यो मिसनमा लागीपरेको थियो । सन् २०२१ मा पहिलो व्यावसायिक मानवयुक्त फ्लाइटलाई अन्तरिक्षमा पठाउन कम्पनीले सफलता पायो । पहिलो फ्लाइट अन्तरिक्षको सयरमा निस्किँदा भर्जिन ग्रुपका मालिक रिचर्ड ब्रेन्सन पनि त्यसमा सवार थिए । अब यस्तो अर्को फ्लाइट सन् २०२३ मा पठाउने तयारी छ र सन् २०२५ सम्म वार्षिक ४०० भन्दा बढी फ्लाइट पठाउने क्षमता हासिल गर्न कम्पनीले काम गरिरहेको छ ।

 

विश्वमा हवाई यात्राको तरिका पनि फेरिनेछ

चीनको एक कम्पनी क्यास स्पेसले यस्तो प्रविधिमा काम गरिरहेको छ जसमार्फत् स–साना अन्तरिक्ष यान र रकेट पठाउन सकियोस् र रियुजेबल स्पेस यान तयार गर्न सकियोस् ताकि स–साना पेसेन्जर ट्रिपमार्फत् अन्तरिक्ष यात्राको खर्च कम गर्न सकियोस् । अर्को वर्ष अर्थात् सन् २०२३ मा यो कम्पनीले आफ्नो पहिलो परीक्षण उडान पठाउनेछ । अन्तरिक्ष पर्यटनको यसै प्रविधिको प्रयोग गरेर चीनको एउटा स्टार्टअपले विश्वका ठूला शहर जस्तै बेइजिङ–दुबई आदिलाई एक घण्टाको उडानबाट जोड्ने योजना सुरु गरेको छ ।

 

कहाँ, कस्तो र के तालिम चलिरहेको छ ?

अमेरिकाको पेन्सिलवेनियामा भर्जिन ग्यालेक्टिक आफ्नो फ्युचर स्पेस टुरिस्टका लागि तालिम दिइरहेको छ । सयौँ मानिस जसले बुकिङ गराएका छन्, उनीहरुको नेशनल एरोस्पेस ट्रेनिङ एण्ड रिसर्च सेन्टरमा तालिम चलिरहेको छ । यसमा मानिसहरुलाई अन्तरिक्ष यात्राका बेला सुरुङ जस्तै बनेको रकेट वा क्याप्सुलमा बस्ने र गुरुत्वाकर्षको प्रभावको सामना गर्ने क्षमता सिकाइँदैछ ।

 

साथै, मानिसहरुको रक्त परीक्षण, सासलाई नियन्त्रण गर्ने क्षमता र अन्य शारीरिक परीक्षणमा पनि केन्द्रीत गरिँदैछ । १२ अप्रिल सन् १९६१ मा सोभियत एस्ट्रोनट युरी गागरिन अन्तरिक्षमा पुग्ने पहिलो व्यक्ति बनेका थिए । त्यसको करिब ६० वर्षपछि आज मानिस अन्तरिक्ष यात्रा र पर्यटन गर्न सक्षम भएको छ । एजेन्सी