२०८१ बैशाख ८ , शनिवार

एआईजी पोखरेलले दिए राजीनामा

सुनाखरी न्युज/ काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले राजीनामा दिएका छन् । पोखरेलले सोमबार दिउँसो प्रहरी प्रधान कार्यालय पुगेर सेवाबाट राजीनामा दिएका हुन् । पोखरेलको राजीनामा स्वीकृत हुन बाँकी छ ।

 

पोखरेलले मानव स्रोत विभागमा पुगेर राजीनामा पत्र बुझाएको स्रोतले जनायो । पोखरेलले एआइजी पूजा सिंह मार्फत महानिरीक्षक (आइजीपी) धीरजप्रताप सिंह समक्ष राजीनामा पत्र बुझाएर बाहिरिएका हुन् । पोखरेलको राजीनामा महानिरीक्षक सिंहले गृह मन्त्रालयमा पेस गर्नुपर्ने छ । राजीनामा पत्र मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि मात्रै लागू हुने छ । आफूभन्दा करिब डेढ वर्ष कनिष्ठ एआईजी सिंहलाई महानिरीक्षक (आईजीपी)मा नियुक्त गरेपछि पोखरेल २०७९ वैशाखमा आइजीपी बढुवा बदरको माग गर्दै सर्वोच्च अदालत पुगेका थिए । एआईजीमा बढुवा भएको डेढ महिनामै सिंह आइजीपीमा नियुक्त भएका थिए ।

 

२०७९ वैशाख १८ को मन्त्रिपरिषद् बैठकले जेष्ठता मिचेर सिंहलाई महानिरीक्षकमा बढुवा गरेको थियो । बढुवाको भोलीपल्ट वैशाख १९ मा पोखरेल सरकारको निर्णय बदरको मागसहित सर्वोच्च पुगेका थिए । तर, रिट दायर भएको साढे दुई महिनापछि असार ३१ मा कामु प्रधानन्यायाधीश दिपक कार्की र न्यायाधीश कुमार चुडालको संयुक्त इजलाशले सिंहलाई महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध पोखरेलले दायर गरेको रिट खारेज गरेको थियो । पोखरेल महानिरीक्षकमा बढुवा भएको भए २०७९ चैतसम्म प्रहरी सेवामा रहन्थे ।

 

तर, सिंह आईजीपी बनेपछि पोखरेल एआइजीको उमेर हदका कारण आगामी २० गतेबाट अनिवार्य अवकाशमा जाँदै थिए । त्यस अघि नै उनी नियमित काममा नफर्की राजीनामा दिएर बाहिरिएका हुन् । आईजीपी सिंह र एआईजी पोखरेल २०४९ चैतमा एकै दिन प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका अधिकृत हुन् ।