२०७९ श्रावण २३ , सोमवार

लागु औषधसहित एक भारतीय नागरिक पक्राउ

सुनाखरी न्युज /काठमाडौं –

नेपाल प्रहरीले लागुऔषधसहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

 

प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले महोत्तरीको गौशालाबाट काठमाडौँ आउँदै गरेको बा४ख ५१४४ नम्बरको यात्रुबाहक बसमा सवार भारत विहारका १८ वर्षीय विवेक कुमारलाई आइतबार पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले लागुऔषध झोलामा लुकाएर ल्याएको अवस्थामा नागढुङ्गामा जाँचका क्रममा लागुऔषधसहित कुमारलाई पक्राउ गरिएको जानकारी दिए ।

 

प्रहरी पक्राउ परेका भारतीय नागरिकसँग ७०० एम्पुल डाइजेपाम, ७०० एम्पुल फेनार्गन, ७०० एम्पुल नुर्फिन र भारतीय आधार कार्ड बरामद गरेको छ । पक्राउ परेका कुमारलाई लागुऔषध नियन्त्रण २०३३ को कसुरमा जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए । रासस