२०८१ बैशाख ८ , शनिवार

कालो धनलाई सेतो बनाउन गभर्नरमाथि हमला : ज्ञवाली

सुनाखरी न्युज/ काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले कालो धनलाई सेतो बनाउन गभर्नरमाथि बारम्बार हमला भइरहेको बताएका छन् ।

सोमबार काठमाडौंमा नेकपा एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले आयोजना गरेको उपभोक्ताको दृष्टिमा गठबन्धन सरकारको एक वर्ष विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उपमहासचिव ज्ञवालीले अहिले गभर्नरमाथि लगाइएका लान्छना बहाना मात्रै रहेको उल्लेख गरे । ‘अर्को खतरनाक स्थिति कालो धनलाई सेतो बनाउने जुन ढंगका प्रयासहरू भए‚ अहिले गभर्नरमाथिको हमला त्यही त हो । हिजो उहाँहरुले हटाउने प्रयास गर्नुभएकै हो । जम्माजम्मी कारण के ? कसैले ल्यायो ४० करोड रुपैयाँ बाहिरबाट; स्रोत देखाउनुस् भन्यो; स्रोत देखाउन सक्दैन । १७/१८ वटा फेक कम्पनीहरू छन् । अमेरिकामा सोध्दा ती कम्पनीहरूको कुनै पनि महत्त्व छैन; यो स्रोत गलत हो भन्छ; मन्त्रीजीले तोक लगाउनुहुन्छ- त्यो धनलाई तुरुन्त फुकुवा गर्नू ।

त्यो गर्न नमानेबापत राष्ट्र बैंकमाथि हमला भएको हो । अहिले बनाइएका सबै बहाना भन्ने कुरा मात्रै हुन् ।’ आर्थिक हिसाबले पनि कुशासन र दुर्घटनाको बाटोतिर मुलुक गइरहेको उनको दाबी थियो । बनावटी रुपमा मूल्यवृद्धि गर्दा आम जनताको चुल्हो बल्न नसकेको उनले बताए । सरकारले बनावटी अभाव देखाएर किसानको मलको मागलाई पूरा गर्न नसकेको उनको भनाइ थियो । राज्य डरलाग्दो रुपमा बिचौलियाहरूको नियन्त्रणमा जान थालेको उनले बताए । अहिलेको गठबन्धन सरकारलाई राजनीतिक गठबन्धनको रुपमा व्याख्या गर्दै राजनीतिक गठबन्धनको आवरणमा रहेको वित्तीय गठबन्धनले भ्रष्टाचार, कालाबजारिया र कमिसनतन्त्रलाई संरक्षण गरिरहेको आरोप उनले लगाए । अहिलेको गठबन्धन मुलुकका लागि डरलाग्दो रहेको उनको भनाइ थियो । ‘राज्य एकदमै डरलाग्दो गरेर बिचौलियाहरुको नियन्त्रणमा जान थालेको छ । राजनीतिक गठबन्धनप्रति हामीलाई कुनै आपत्ति छैन; माओवादीको कांग्रेसीकरण होस् वा कांग्रेसको माओवादीकरण हाम्रो आपत्तिको कुरा भएन; हामी आफ्नो ढंगले त्यसको सामना गर्नेछौं । यो राजनीतिक विषय हो ।

 

जनता सार्वभौम हुन्, जनताले जे फैसला गर्छन् त्यो हाम्रो निम्ति मञ्जुर छ,’ उनले भने, ‘तर आज राजनीतिक गठबन्धनको आवरणमा जुन खतरनाक वित्तीय गठबन्धन छ । भ्रष्टाचारलाई, कालाबजारीयालाई, कमिसनतन्त्रलाई संरक्षण गर्ने, जुन एउटा खतरनाक वित्तीय गठबन्धन भइरहेको छ, मुलुकका निम्ति असाध्यै डरलाग्दो कुरा हो । सिंगो अर्थतन्त्र केही मुठीभर नियन्त्रणमा जाने खतरनाक स्थिति सिर्जना भएको छ । यो एक वर्ष देशका लागि कुशासन र बर्बादीको एक वर्ष हो ।’सरकार विद्युतीय सवारीसाधन मुख्य सहरमा चलाउने कुरामा गैरजिम्मेवार भएर बसिरहेको आरोप लगाए । पछिल्लो समय बजारको अनुगमनमा पनि ध्यान नदिएको उनले बताए । आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणमा पूर्वअर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई प्रवेश गर्न दिई करका दर हेरफेर गरेको र सीसीटीभी फुटेज मेटाएको विषयमा गहिराइमा पुगेर सत्यतथ्य छानिबन गर्ने र घटनालाई तोडमोड गर्न नदिने स्पष्ट पारे ।