२०८१ बैशाख ७ , शुक्रवार

नागढुङ्गामा ‘भेइकल स्क्यानिङ मेसिन’ जडान गरिँदै

सुनाखरी न्युज /काठमाडौं –

काठमाडौं उपत्यका प्रवेश गर्ने प्रमुख नाका नागढुङ्गामा सवारी साधन जाँच तथा अभिलेख राख्न अत्याधुनिक उपकरण जडान गरिने भएको छ ।

 

उपत्यका भित्रिने र बाहिरिने सवारी साधनका दैनिक ‘रेकर्ड’ ट्राफिक प्रहरीले हातले नै राख्दै आएका छन् भने आशङ्का लागेका सवारी साधन तथा यात्रुलाई खानतलासी गर्ने काम उनीहरुले नै गरिरहेका छन् । उपत्यका भित्रिने प्रमुख नाकामा अवस्थित चन्द्रागिरि नगरपालिकाले देशमा नै पहिलोपटक ‘भेइकल स्क्यानिङ मेसिन’ सो स्थानमा राख्न गृहकार्य सुरुआत गरेको छ ।

 

यसका लागि नगरपालिकाले पहिलो चरणमा नेपाल प्रहरीका उच्च नेतृत्व, सडक विभागलगायत अन्य सरोकार निकायसँग संवाद गरिसकेको छ । नगरप्रमुख घनश्याम गिरीले भने, “काठमाडौ. उपत्यकाको सुरक्षाका दृष्टिकोणले नागढुङ्गामा ‘भेइकल स्क्यानिङ मेसिन’ राख्नु जरुरी छ । प्रविधिको युगमा पनि कति दिन हातले लेखेर सवारी साधनको रेकर्ड राख्ने ?” उक्त मेसिनले सवारी साधनसहित चालक एवं आवश्यकताअनुसार यात्रुको पनि ‘स्क्यानिङ’ गरी अभिलेख राख्छ ।

 

यसले सुरक्षा तथा ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने जनाइएको छ । मेसिनको करिब रु दुई करोड ५० लाख पर्ने जनाइएको छ । उनका अनुसार मेसिन खरिदका लागि नगरपालिकाले उपत्यकाका अन्य पालिका तथा सरोकार निकायसँग सहकार्यका लागि आव्हानसमेत गरेको छ । नगरप्रमुख गिरीले भने, “यो चन्द्रागिरि नगरपालिकालाई मात्र आवश्यक पर्ने कुरा होइन ।

 

यसबाट समग्र उपत्यकाको सबै पालिका एवं सङ्घीय सरकारलाई समेत फाइदा पुर्याउँछ । यसले सुरक्षा र ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन सहयोग गर्छ । सम्भव भए नगरपालिका आफैँले ‘भेइकल स्क्यानिङ मेसिन’ खरिद गर्छ नत्र अन्य उपाय अवलम्बन गर्छौ ।” रासस