२०८१ बैशाख ८ , शनिवार

औद्योगिक कच्चा पदार्थ,मोटरसाइकल र मोबाइल आयातमा थप कडाइ, भदौ १४ सम्म प्रतिबन्ध

सुनाखरी न्युज/ काठमाडौं –

सरकारले थप कडाइ गर्दै आयात प्रतिबन्धलाई भदौ १४ गतेसम्म लम्ब्याएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले मोटरसाइकल र मोबाइल आयातमा थप कडाइ गर्दै समय थपेको हो।

विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि सरकारले आयात प्रतिबन्ध लगाएको हो। सरकारले १५० सीसीभन्दा माथिका बाइक ल्याउन प्रतिबन्ध लगाएको छ। यसअघि २५० सीसीमाथिका मात्रै आयातमा प्रतिबन्ध थियो। त्यस्तै मोबाइलमा तीन सय डलरसम्मका मात्रै ल्याउन खुला गरेको छ। यसअघि ६ सय डलरसम्मका ल्याउन पाइन्थ्यो।

 

यस्तै कुरकुरे, लेज र यसका उत्पादनमा आयात प्रतिबन्ध लगाइएको छ। औद्योगिक कच्चा पदार्थ बाहेक सबै प्रकारका मदिरा आयातमा प्रतिबन्ध लगाइएको छ। यसैगरी औद्योगिक कच्चा पदार्थ बाहेक चुरोट, सुर्तीजन्य पदार्थ ल्याउन पाइने छैन। यसैगरी हिरा पनि ल्याउन रोक लगाइएको छ। सूचना अनुसार ३२ इन्च भन्दा बढीको रंगिन टीभी ल्याउन रोक लगाइएको छ। यसैगरी जीप, कार, भ्यान आयातमा पनि पूर्ण प्रतिबन्ध लगाइएको छ।

 

खेलौनाहरुमा पनि प्रतिबन्ध लगाइएको छ। यसैगरी १५० सीसीदेखि २५० सीसीसम्मका मोटरसाइकल साउन १ गते अघि नै प्रतितपत्र (एलसी) खुलेको भए ल्याउन पाइने उल्लेख छ। मन्त्रालयले वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशित गरी विभिन्न वस्तुमा चालु वर्षको अन्त्यसम्म आयात प्रतिबन्ध लगाएको थियो। प्रतिबन्धलाई ४४ दिन थप गरेको हो। सरकारले पहिले भन्दा अहिले प्रतिबन्धको मोडालिटी फेरेको हो।

 

गाडी व्यवसायीहरुले सवारी आयात खुलाइदिन प्रधानमन्त्री शेरबहादुर देउवासँग निरन्तर आग्रह गरेका थिए। यसको आधारमा प्रतिबन्ध खुलाउने/नखुलाउने विषयमा वाणिज्य मन्त्रालयले एक अध्ययन कमिटी बनाएको थियो। सोही कमिटीको सुझावका आधारमा आयात प्रतिबन्धात्मक व्यवस्था भएको हो।