२०८१ बैशाख १३ , बिहिवार

हिमालय एअरलाइन्स्ले काठमाडौंसँग कुवेतलाई जोड्दै

सुनाखरी न्युज/ काठमाडौं । आफ्नो अन्तर्राष्ट्रिय पहिचानलाई विस्तार गर्दैे आठौं अन्तर्राष्ट्रिय निर्धारित गन्तव्य र छैठौं गल्फ सिटी कुवेतको लागि हिमालय एअरलाइन्स्ले जुलाई १५, २०२२ मा आफ्नो पहिलो निर्धारित उडान सफलतापूर्वक सञ्चालन गरेको छ ।

 

निर्धारित उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जुलाई १५, २०२२, शुक्रबार राती २२ः३२ बजे प्रस्थान गरी कुवेतबाट फर्कने क्रममा शनिबार बिहान ०९ः१७ बजे काठमाडौं अवतरन गरेको थियो । उडान उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रुपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रेम नाथ ठाकुर र अन्य विशेष अतिथिहरुको उपस्थिति रहेको थियो । एअरलाइन्स्ले हरेक शुक्रबार काठमाडौंदेखी कुवेत र हरेक शनिबार कुवेतदेखी काठमाडौं उडान सञ्चालन गर्नेछ । अरबी प्रायद्वीपको देश, कुवेत विशेष गरी रोजगारी र व्यापारिक उद्देश्य लिएर जाने नेपालीहरूका लागि महत्त्वपूर्ण गन्तव्य हो । नेपाल र कुवेतबीच मैत्रीपूर्ण र सौहार्दपूर्ण सम्बन्ध रहेकोमा हिमालय एअरलाइन्स्द्वारा काठमाडौं–कुवेत–काठमाडौं सेक्टरको उद्घाटनले दुई राष्ट्रबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने छ ।

 

नेपाल र कुवेतबीच जनवरी २३, २००६ मा हवाई सेवा सम्झौता भएको थियो । यस सन्दर्भमा काठमाडौंलाई कुवेतसँग सीधा जोड्ने नेपालको पहिलो वायुसेवा कम्पनी बन्न पाउनु हिमालय एअरलाइन्स्को लागी गर्वको कुरा हो । यो क्षेत्र सञ्चालनमा आएपछि रोजगारी, व्यापार र पर्यटनका लागि दुवै देशका यात्रुहरुको आवतजावतमा थप सहजता प्रदान हुने एअरलाइन्स्को विश्वास छ । यस अवसरमा कम्पनीका प्रशासनिक उपाध्यक्ष, विजय श्रेष्ठले भन्नुभयो, “हिमालय एअरलाइन्स् एक प्रगतिशील वायुसेवा कम्पनी हो जसले यात्रुहरूलाई प्रभावकारी अन्तर्राष्ट्रिय हवाई सेवा उपलब्ध गराउँदै आएको छ । हिमालयले काठमाडौं–कुवेत–काठमाडौं सेक्टरको सुरुवात पनि सोही भावना अनुरुप गरेको हो ।”

 

कोभिड–१९ महामारी र पछिल्लो समयको युक्रेन संकटबाट प्रभावित राष्ट्रिय अर्थतन्त्र र एअरलाइन्स्का लागि यस नयाँ रुटमा सेवा सुचारु गर्दा केही सहजता प्रदान हुने उहाँको अपेक्षा रहेको कुरको जानकारी समेत श्रेष्ठले गराउनु भयो । एअरलाइन्स्को एअरबस् ३२० लाई प्रयोग गरिने यस रुटको टिकट बुकिङ्गका लागि यात्रुहरूले हिमालय एअरलाइन्स्को बिक्री कार्यालय वा नजिकको ट्राभल एजेन्सीमा सम्पर्क गर्न सक्नेछन् ।