२०८१ बैशाख १३ , बिहिवार

नेपाल प्रहरीका लागि हतियार खरिद प्रक्रिया विवादित, अर्थले रोक्यो आफैंले रकमान्तर गरेको ८४ करोड

सुनाखरी न्युज/ काठमाडौं ।
अर्थ मन्त्रालयले  नेपाल प्रहरीका लागि हतियार खरिद प्रक्रिया विवादित बनेपछि रकम निकासा रोकेको छ । इटालीको हतियार चिनियाँ कम्पनीमार्फत नेपाली बिचौलियाको सेटिङमा किन्नका लागि प्रतीतपत्र ९एलसी० खोल्न लागिएको समाचार शुक्रबार कान्तिपुरमा छापिएपछि अर्थ मन्त्रालय आफैंले रकमान्तर गरेको ८४ करोड रुपैयाँको निकासा रोकेको हो ।

 

 

मन्त्रालयले शुक्रबार प्रतिनिधिसभाको अर्थ समितिलाई पत्र पठाएर हतियार खरिदको रकम प्रहरीलाई निकासा रोकेको जानकारी गराएको छ । यसअघि समितिले हतियार खरिदसम्बन्धी सम्पूर्ण कागजात छानबिनका लागि प्रहरी प्रधान कार्यालयबाट झिकाएको थियो । प्रहरीले हतियार र गोलीगट्ठा खरिद गर्न २०७९ असार मसान्तभित्र एलसी खोल्ने गरी नेपाली बिचौलिया दीपक भट्टमार्फत चीन र हङकङका तीन कम्पनीसँग सम्झौता गरेको थियो ।

 

समितिका सचिव सुरेन्द्र अर्यालका अनुसार मन्त्रालयबाट आएको पत्रमा हतियार खरिद गर्न यसअघि रकमान्तर बजेट निकासा रोकिएको उल्लेख छ । अर्थ मन्त्रालयका एक अधिकारीले पनि खरिद प्रकरणको विवाद निरूपण नभएसम्म बजेट निकासा नगरिने बताए ।