२०८१ बैशाख १३ , बिहिवार

नेपालका लागि लाओसको कन्सुलरमा व्यवसायी राजु श्रेष्ठ नियुक्त

सुनाखरी न्युज/ काठमाडौं । जनवादी गणतन्त्र लाओले नेपालका लागि वाणिज्य दूत (कन्सुलर)मा व्यवसायी राजु श्रेष्ठलाई नियुक्त गरेको छ । पर्यटन व्यवसायी श्रेष्ठलाई बिहीबार आयोजित कार्यक्रममा नेपालसमेत हेर्ने दिल्लीस्थित लाओ राजदूतावासका डेपुटी चिफ अफ दि मिसन कियो सेङदाभोङ् र शिष्टाचार महापाल दुर्गा बहादुर सुवेदीले वाणिज्य दूतको प्रमाणपत्र प्रदान गरे ।

 

श्रेष्ठलाई वाणिज्य दूतमा नियुक्तिसँगै लाओको महावाणिज्य दूतावास काठमाडौंमा स्थापना भएको छ । काठमाडौंको ठमेलस्थित नेपाली घरमा स्थापित महावाणिज्य दूतावासको बिहीबार दिल्लीस्थित लाओ राजदूतावासका डेपुटी चिफ अफ दि मिसन कियो सेङदाभोङ्ले उद्घाटन गरेका हुन् । कार्यक्रममा नवनियुक्त वाणिज्य दूत श्रेष्ठले नेपाल र लाओबीच सन् १९६० मा द्विपक्षीय कुटनीतिक सम्बन्ध विस्तार भएको स्मरण गर्दै आफूले दुई मुलुकबीचको कुटनीतिक तथा आर्थिक सामाजिक सम्बन्धलाई थप बलियो बनाउँदै लैजाने प्रतिवद्धता जनाए । श्रेष्ठले नेपालका ख्यातिप्राप्त चिकित्सक डा. सन्दुक रुइतले लाओवासीको आँखाको उपचारका लागि क्याम्प चलाएको जानकारी दिँदै आगामी दिनमा पनि यसरी नै आपसी सम्बन्ध विस्तार गर्दै लैजाने जानकारी दिए ।

 

कार्यक्रममा थत लाओ राजदूतावासका डेपुटी चिफ अफ दि मिसन कियो सेङदाभोङले पर्यटन, व्यापार तथा लगानीका क्षेत्रमा नेपालसँग लाओवासीले सहकार्य गर्न चाहेको बताए । नेपालले बुद्ध जन्मस्थल लुम्बिनीमा गुम्बा स्थापनाका लागि क्षेत्र छुट्याइदिएकोमा पनि लाओ सरकारले धन्यवाद ज्ञापन गरेको छ । नेपालस्थित विभिन्न मुलुकका कन्सुलरहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रमका सहभागीहरुले लाओस बुद्धमार्गीहरुको मुलुक भएकाले नेपालमा धार्मिक पर्यटनको सम्भावना रहेको धारणा राखेका थिए ।