२०८१ बैशाख ११ , मंगलबार

प्रतिनिधिसभाको उपसभामुख पदमा पुष्पा भुसाल निर्वाचित

सुनाखरी न्युज/ काठमाडौं –
प्रतिनिधिसभाको उपसभामुखमा सत्तारुढ गठबन्धनकी उम्मेदवार पुष्पा भुसाल निर्वाचित भएकी छन् ।

 

शुक्रबार भएको निर्वाचनमा कांग्रेसकी सचेतक समेत रहेकी भुसालले एमालेकी उम्मेदवार विद्या भट्टराईलाई पराजित गरेकी हुन् । उपसभामुखमा निर्वाचि भुसालले १४८ मत प्राप्त गरिन् भने एमाले उम्मेदवार विद्या भट्टराईको पक्षमा भने ९३ मत मात्रै पर्‍यो । साढे २ वर्षदेखि उपसभामुखविहिन रहेको प्रतिनिधिसभामा भुसालले नयाँ जिम्मेवारी पाएकी हुन् ।

 

उनी दोस्रो प्रयासमा उपसभामुख बन्न सफल भएकी हुन् । उपसभामुखमा निर्वाचित हुनका लागि तत्काल कायम रहेको सांसद संख्याको बहुमत आवश्यक पर्ने प्रतिनिधिसभा नियमावलीको व्यवस्था छ । हाल २ सय ७१ सांसद छन् । जसको बहुमत १ सय ३६ हो । शुक्रबारको निर्वाचनमा २४२ सांसद उपस्थित थिए । एक सिट रहेको नेपाल मजदुर किसान पार्टी भने निर्वाचनमा सहभागी भएको थिएन ।

 

२०७४ सालमा भएको प्रतिनिधिसभाको उपसभामुख निर्वाचनमा तत्कालीन वाम गठबन्धनकी एमाले उम्मेदवार शिवमाया तुम्बाहाङ्फेबाट पराजित भुसाल अहिले वाम गठबन्धनमा रहेको माओवादी केन्द्र र तत्कालीन एमालेबाट छुट्टिएर बनेको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को भोटको बलमा उपसभामुखमा निर्वाचित भएकी हुन् ।