२०८० चैत्र १६ , शुक्रवार

भारतीय दूतावासद्वारा नेपाल सरकारलाई विपद् राहत सामग्री हस्तान्तरण

सुनाखरी न्युज/ काठमाडौं –

भारत सरकारको तर्फबाट नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले गृह मन्त्रालय, सिंहदरबारमा आयोजित एक समारोहबीच नेपाल सरकारका माननीय गृहमन्त्री बालकृष्ण खाणलाई बाढी तथा पहिरो राहत सामग्री हस्तान्तरण गर्नु भयो ।

 

राहत सामग्रीमा ३००० वटा ठूला साइजका टेन्ट तथा १० वटा इनफ्लेटेबल डुंगा रहेका छन् । हरेक वर्ष भारी वर्षाका कारण हुने डुबानले नेपालका विभिन्न भागमा ठूलो विनाश र क्षति हुने गरेको छ । मानवीय सहायता तथा विपद् राहत उपलब्ध गराउने आफ्नो प्रतिबद्धतालाई कायम राख्दै नेपाल सरकारले राहत सामग्रीका लागि गरेको अनुरोध बमोजिम दूतावासले राहत सामग्री उपलब्ध गराएको हो ।

 

नेपाली जनता र नेपाल सरकारलाई विपद् न्युनीकरण प्रयासमा सहयोग गर्न मानवीय सहायता तथा विपद् राहत उपलब्ध गराउने यो पहल नेपाल र भारत बीचको विकास साझेदारीको आधारको रुपमा रहेको छ । यसले भारत र नेपालका जनता बीचको भावनात्मक सम्बन्धलाई उजागर गरेको छ । कार्यक्रममा बोल्दै राजदूतश्रीवास्तवले राहत सामाग्री बेलैमा उपलब्ध गराउन पाएकोमा खुशी व्यक्त गर्नु भयो ।

 

वहाँले सम्बन्धित निकायले राहत सामाग्रीको उचित प्रयोग एवम् समयमै वितरण गरी त्यसको अधिकतम लाभलाई सुनिश्चित गर्ने कुरामाआफू आशावादी रहेको बताउनुभयो । समयमै राहत सामग्री उपलब्ध गराइदिएकोमा गृहमन्त्री खाणले भारत सरकारलाई धन्यवाद व्यक्त गर्नु भयो र नेपालमा भारत सरकारको सहयोगमा सञ्चालित विकास परियोजनाको सराहना गर्नु भयो ।

 

नजिकको छिमेकी भएको नाताले भारत र नेपाल बीच व्यापक बहु क्षेत्रीय सहकार्य रहेको छ । यी राहत सामग्रीको हस्तान्तरणले आफ्ना जनताको उत्थानका लागि नेपाल सरकारले चालेको प्रयासलाई थप बलियो बनाउन भारत सरकारको निरन्तर सहयोग रहने कुरालाई प्रतिबिम्बित गरेको छ ।