२०७९ श्रावण २९ , आइतवार

वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने फरार प्रतिवादी पक्राउ

सुनाखरी न्युज/ काठमाडौं –

वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।

 

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले चितवन कालिका नगरपालिका-८ बस्ने ४६ वर्षीय श्रीकृष्ण घिसिङ तामाङलाई पक्राउ गरेको प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। उनलाई बिहीबार काठमाडौंको कलंकीबाट पक्राउ गरेको हो।

 

उनीसँग वैदेशिक रोजगारको काम सञ्चालन गर्ने अनुमति छैन। तर विभिन्न व्यक्तिहरूलाई इजरायल, जापान लगायत पठाइदिने भन्ने गरेका थिए। राम्रो पारिश्रमिक हुने, आकर्षक रोजगार दिने भन्दै उनले ठगी गरेको खुलेको थियो। ठगी गरेको भन्दै २०७४ मा तीन पीडितले उनीविरूद्ध मुद्दा हालेका थिए।

 

सर्वोच्च अदालतले २०७७ चैत १७ गते वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम ६ वर्ष कैद र ६ लाख रुपैयाँ जरिवाना ठहर गरेको थियो। त्यसयता उनी फरार थिए। फैसला कार्यान्वयन गराउन सिआइबीको टोलीले उनलाई पक्राउ गरेको हो। उनलाई बिहीबार नै काठमाडौं जिल्ला अदालतमा पेस गरिएको छ।