२०८१ बैशाख ८ , शनिवार

छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

सुनाखरी न्युज/ काठमाडौं –

ललितपुर – ललितपुर महानगरपालिका-१५ हात्तिवनस्थित सडकमा रोकी राखेको बागमती प्रदेश ०१-००५ ख ९४७५ नम्बरको ट्रकमा बागमती प्रदेश ०२-००७ प ८६३८ नम्बरको स्कुटर ठोक्किएर गएराति दुर्घटना हुँदा स्कुटर चालक गोदावरी नगरपालिका-५ लेले घर भई हाल नख्खु बस्ने २० वर्षीय सुरेश मोक्तानको मृत्यु भएको छ ।

 

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि पाटन अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुबै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सुनसरी – बराहक्षेत्र नगरपालिका-३ भरौलीस्थित सडकमा को.१ च ७७९१ नम्बरको टाटा सुमोको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-५ सिमरबन बस्ने ६० वर्षीय दुखिलाल धामीको बुधबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि धरानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँके – कोहलपुर नगरपालिका-११ दशबिगाह चोकमा भे.१ क १२५ नम्बरको गाडी र भे.४ प ३२५३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बुधबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ६० वर्षीय राम बहादुर थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । दुवै सवारी साधन र गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रौतहट – दुर्गाभगवती गाउँपालिका-२ भलोहीमा ना.३ त ५३७० नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने ७० वर्षीय किशोरी ठाकुरको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको शिवदर्शन अस्पताल सुकदेवचोकमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सप्तरी – रुपनी गाउँपालिका-६ वीरेन्द्र बजारमा स.४ प १३३४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीय दिप नारायण मेहताको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको यूनिक अस्पताल रुपनी हुँदै गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उदयपुर – कटारी नगरपालिका-४ अडा कुन्नामा प्रदेश २-०१-००१ च ०२४३ नम्बरको बोलेरो गाडी आफै अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा गाडीमा सवार सोही नगरपालिका-१३ बस्ने १८ वर्षीय विष्णु राउतको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको हो ।

 

साथै दुर्घटनामा घाइते भएका अन्य ८ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।