२०८० चैत्र १५ , बिहिवार

नाबालकलाई प्रयोग गरी सुनका सिक्री चोरी गर्ने कार्यमा संलग्न तीन जना पक्राउ

सुनाखरी न्युज/ रूपन्देही-

नाबालकलाई प्रयोग गरी सुनका सिक्री चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा नाबालक सहित ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नाबालकको प्रयोग गरी चोरी गराउने पर्सा पटेर्वा सुगौली घर भई हाल रुपन्देही कञ्चन गाउँपालिका-४ हर्नाचौर बस्ने ३६ वर्षीय विजय राय नट तथा चोरी गर्ने सोही ठाउँ बस्ने ११ वर्षीय र १२ वर्षीय नाबालक रहेका छन् ।

 

रुपन्देही कञ्चन गाउँपालिका-४ बनकसियास्थित आईतबारे हाटबजारमा टमाटर किन्ने क्रममा सोही ठाउँ बस्ने ७० वर्षीया महिलाले घाँटीमा लगाएको ३ तोला ४० लाल बराबरको सुनको सिक्री २ जना नाबालकहरुले आइतबार दिउँसो चोरी गरी भागेको घटनाको अनुसन्धान गर्ने क्रममा ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले ती नाबालकलाई कञ्चन गाउँपालिका-४ बनकसिया डिहोमा लुकि छिपी हिँडिरहेको ‍अवस्थामा चोरी भएको सुनको सिक्री सहित फेला पारी नियन्त्रणमा लिएको हो ।

 

थप अनुसन्धानको क्रममा उक्त कार्यमा विजयको संलग्नता रहेको खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धनाको क्रममा विजयले करिब एक महिना अघि पर्सा जिल्लाको आफ्नो गाउँ घरबाट दुवैजना नाबालकलाई रूपन्देही कञ्चन गाउँपालिका-४ हर्नाचौरमा बोलाई उनीहरूलाई सुनको सिक्री कसरी चोर्ने र कसरी भाग्ने भनि सिकाई बजारमा भिडभाड भएको ठाउँमा लगि बालबालिकालाई प्रयोग गरी चोरी गर्ने गराउने गरेको खुल्न आएको छ ।

उनीहरू उपर चोरी सम्बन्धी कसूरमा म्याद थप अनुमती लिई प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।