२०८१ बैशाख १२ , बुधवार

फेरी बढ्यो कोरोनाको त्रास, ‘ओमिक्रोन बीए.५’ ले कोरोना सङ्क्रमणको चौथो लहर ल्याउन सक्ने चिन्ता

सुनाखरी न्युज/ काठमाडौं ।

नेपालमा असार महिनाको दोस्रो हप्तादेखि कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । ओमिक्रोन भेरियन्टको ‘बीए.५’ उपप्रजातिका कारण सङ्क्रमण बढ्न थालेको जनस्वास्थ्यविद्हरू बताउँछन् ।

पाटन अस्पतालका सङ्क्रामक रोग विशेषज्ञ डा। जनक कोइरालाले विदेशमा जस्तै नेपालमा ओमिक्रोन भेरियन्टको बीए.५ उपप्रजातिकै कारण सङ्क्रमण बढेको हुन सक्ने बताए ।

सङ्क्रामक रोग विशेषज्ञ डा.  प्रभात अधिकारी पनि ओमिक्रोन भेरियन्टको उपप्रजाति बीए। ४, बीए.५ भेरियन्टका कारण सङ्क्रमितको दर तीव्र गतिमा बढेको सुनाउँछन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा २०६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

गत साता अर्थात् असार २३ गते बिहीबार देशभर ७८ जना सङ्क्रमित भएका थिए भने शुक्रबार ९८ जनामा सङ्क्रमण पुष्टि भयो । यस्तै, शनिबार १०२, आइतबार १२१, सोमबार १६८ र मंगलबार १७७ जनामा सङ्क्रमण पुष्टि भयो ।

२९ जेठमा कुल परीक्षण गरिएका नमुनामध्ये ०.५५ प्रतिशत अर्थात् १९ जनामा सङ्क्रमण पाइएको थियो भने ठिक एक महिनापछि सङ्क्रमण दर बढेर ६.४८ प्रतिशत पुगेको छ ।