२०८१ बैशाख ११ , मंगलबार

साउनमा ब्याजदर नबढाउने बैंकर्स संघको निर्णय

सुनाखरी न्युज / काठमाडौं । नेपाल बैंकर्स संघले साउन महिनामा पनि ब्याजदर नबढाउने निर्णय गरेको छ । वाणिज्य बैंकहरुले साउन महिनाका लागि निक्षेपमा ब्याजदर ११.०३ प्रतिशतसम्म नै दिने सहमति गरेका छन् ।

 

बैंकर्स संघको बुधबार बसेको बैठकले असारका लागि तोकिएको ब्याजदरलाई नै निरन्तरता दिने निर्णय गरेको माच्छापुछ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालाले बताए । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लगातार ब्याजदर बढ्न सक्ने बताउँदै आएका छन् । गभर्नर अधिकारीले सार्वजनिक मञ्चबाटै ब्याजदर बढ्न सक्ने बताए पनि बैंकर्स संघले भने स्थिर राख्ने निर्णय गरेको हो ।

बैंकहरुले हरेक महिना निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । पछिल्लो केही महिना यता लगानी योग्य रकमको अभाव हुँदा बैंकहरुले निक्षेपको ब्याजदर लगातार बढाउँदै आएका छन् । नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशिकामा नेपाली मुद्रामा व्यक्तिगत प्रकृतिको मुद्दती निक्षेपमा दिएको भन्दा संस्थागत प्रकृतिको मुद्दती निक्षेपमा १ प्रतिशत कम ब्याजदर दिन सक्ने व्यवस्था छ ।

 

यस्तै कल निक्षेपमा बचतमा दिने न्यूनतम ब्याजदरको ५० प्रतिशत मात्रै ब्याजदर दिन सक्ने व्यवस्था छ । बैंकहरुबीच भएको भद्र सहमतिअनुसार हाल वाणिज्य बैंकहरुले व्यक्तिगत प्रकृतिको मुद्दती निक्षेपमा ११.०३ प्रतिशत र संस्थागत प्रकृतिको मुद्दती निक्षेपमा १०.०३ प्रतिशत ब्याजदर प्रकाशित गरेका छन् ।