२०८१ बैशाख १३ , बिहिवार

श्रमिकको बिरामी खर्च सामाजिक सुरक्षा कोषले व्यहोर्ने

सुनाखरी न्युज/ कैलाली –

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले श्रमिकको योगदान र रोजगारदाताको सुरक्षालाई समन्वय गरेर लैजानुपर्ने बताएका छन्।

 

कैलाली उद्योग वाणिज्य सङ्घद्वारा आज धनगढीमा आयोजित स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै उनले श्रमिकको योगदानको कदर गर्ने र रोजगारदातालाई सम्मान गर्ने नीति सरकारको रहेको जानकारी दिए। मन्त्री कुँवरले केही दिनअघि मात्रै श्रमिकहरुको उपचार खर्च वापतको रकम अनलाइन प्रणालीबाट भुक्तानी गर्ने व्यवस्था मिलाइएको जानकारी दिए । उनले भने, “अहिले २६ अस्पताललाई अनुमति दिइएको छ र ती मध्ये १८ अस्पताल अनलाइन प्रणालीमा आइसकेका छन् ।”

 

उनले देशभरिका अस्पताललाई पनि त्यो अनुमति दिने र त्यो अनुमति दिइसकेपछि सामान्य उपचारका लागि २० प्रतिशत खर्च बिरामीले र ८० प्रतिशत खर्च सामाजिक सुरक्षा कोषले व्यहोर्ने गरी कार्य सुरु भएको बताए । उनले सांस्कृतिककर्मी र सञ्चारकर्मी लागि पनि सामाजिक सुरक्षामा आवद्ध गरिने जानकारी दिए । रासस