२०८१ बैशाख १३ , बिहिवार

तारकेश्वरका मेयर राती १० बजे फिल्डमा, पानी परिरहेको बेलामा भइरहेको सडकको पिच रोकीयो

रबिन थपलिया । काठमाण्डौं । रातको समयमा पानी परिरहेको अवस्थामानै ठेकेदारले सडक पिच गरीरहेको भन्ने जनताको गुनासो आएपछि तारकेश्वर नगरपालीकाका मेयर कृष्णहरी महर्जनले अनुगमनमा गरी काम रोक्न निर्देशन दिनुभएको छ ।

 

असार २७ गते तारकेश्वर नगरपालीका १० मिजंख्य टोलमा बर्षा भइरहेको अवस्थामा ठेकेदारले सडक पिच गरेपछि स्थानीयवासीले मेयरलाई खबर गरेका थिए । स्थानीयहरुको आग्रहमा राती पौने १० बजे फिल्डमा इन्जीनीयर सहित पुग्नु भएका महर्जनले पानी परिरहेको अवस्थामा भइरहेको पिचको काम रोक्न निर्देशन दिनुभएको थियो । मेयर महर्जन सहित तारकेश्वरका इन्जीनियर पारस थापा, समाजसेवी लक्ष्मण महर्जन लगायत पिच भइरहेको स्थानमा पुग्नुभएको थियो । स्थानीयले भने अनुसारनै पानी परिरहेको अवस्थामा पिच भइरहेको देखेपछि मेयर महर्जनले अलकत्रा छरीसकेको ठाँउमा मात्र पिच गरेर थप ठाँउमा काम नथाल्न ठेकेदारलाई निर्देशन दिनुभएको थियो ।

 

शहरी बिकास तथा भबन निर्माण बिभागको ३४ लाख ७९ हजार ५ सय ८४ रुपयाँको लागतमा तारकेश्वर नगरपालीका १० मा एन्जल्स हार्ट स्कुल देखि नापी कार्यालय सम्म पुग्ने भित्र बाटोका ३ ठाँउमा सडक स्तर उन्नतीको लागि बजेट बिनियोजन गरिएको थियो । परासी निर्माण सेवा प्रा.लिको ठेक्कामा पानी परिरहेको अवस्थामा हिजै राती पुरै काम सक्ने गरी काम भइरहेको थियो । मेयर महर्जनको निर्देशन पछि राती ठेकेदार कम्पनीले करिब १ सय ५० मिटर मात्र पिच गरेको थियो । मेयरको निर्देशन पछि राती रोकिएको पिचको बाँकी काम भने आज बिहान मौसम सुधार भएसंगै कम्पनीले सुरु गरेको छ ।

 

शहरी बिकास तथा भबन निर्माण बिभागको बजेटमा परासी निर्माण सेवा प्रा.लिले सो स्थानमा पिच सडक माथीनै पिच गर्ने काम गरिरहेको छ । पिच सडकमा एक्कासी पिचको काम भइरहेको देखेपछि कतिपय स्थानीयबासीहरु चकीत परेका थिए । स्थानीयका अनुसार उक्त स्थानमा १५ बर्ष अघि राखिएको सडकको ढल निकै सानो भएका कारण नगरपालीका मार्फत बजेट माग गरेर ढल फेर्ने योजना भइरहेको थियो । स्थानीय आवश्यकता बिपरित भबन निर्माण बिभाग मार्फत आवश्यकनै नभएको ठाँउमा पिच गर्ने काम भएको भन्दै स्थानीयवासीहरुले आश्चर्यता प्रकट गरीरहेका छन् । निर्माण कम्पनी मार्फत राती रोकिएको काम बिहानै बाट भएपछि तारकेश्वर १० का वडा अध्यक्ष कुमार राई, वडा सदस्य बाबुराम पौडेल, सामाजीक अभियन्ता नारायण मल्ल ठकुरी सहितले अनुगमन गदै गुणस्तरीय काम गर्न निर्माण कम्पनीलाई आग्रह गर्नुभएको छ ।

 

नगरपालीकाको कार्यभार सम्हाले लगतै तारकेश्वर नगरपालीकाका मेयर कृष्णहरी महर्जनले आफुले कार्यकाल भरी कुनै सरकारी सेवा र सुविधा नलिने घोषणा गर्नुभएको थियो । त्यस यता प्रशासनीक सुधार, बिकास निर्माण, भ्रष्टाचारमा सुन्य सहनशीलता लगायतका निकै सुधारका कामहरु थाल्नु भएको छ ।