२०७९ श्रावण २९ , आइतवार

देउवा सरकार बनेको एक वर्ष पूरा

सुनाखरी न्युज / काठमाडौं । सर्वाच्च अदालतको परमादेशबाट शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको आज एक वर्ष पूरा भएको छ । गत वर्ष असार २९ गते शेरबहादुर देउवाले पाँचौं पटक प्रधानमन्त्रीको सपथ लिनुभएको थियो ।

 

तत्कालिन प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरी घोषणा गरेको निर्वाचनलाई असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो । संविधानको रक्षा र सुशासन तथा विकासको नारा दिएर पाँच दलीय गठबन्धनको नेतृत्व गर्दै देउवा प्रधानमन्त्री बन्नुभएको थियो । तर, यस बीचमा स्थानीय चुनाव सम्पन्न गर्नु बाहेक सरकारले देश र जनताको पक्षमा कुनै पनि उल्लेखनीय काम भने गर्न सकेको छैन । सत्ता गठबन्धनको ध्यान सत्ता टिकाउनेमा मात्रै केन्द्रीत रहेको आरोप लागिरहेको छ ।

 

एक वर्षको अवधिमा सरकार एक पछि अर्को विवादका काण्डहरुमा मुछिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा विरुद्ध महाअभियोग दर्ता गराउनेदेखि बजेट निर्माणमा अनधिकृत ब्यक्तिको संलग्नतालगायतका ठूला प्रकरणमा देउवा सरकार मुछिएको छ । ओली सरकारले संविधान विपरितका कार्य गरेको आरोप लगाएर सत्तामा आएका देउवा र उनका सहयात्री दलहरुले ओली सरकारले नै अघि सारेको संवैधानिक परिषद् सम्बन्धि अध्यादेशलाई हुबहु विधेयकको रुपमा ल्याएको छ ।

 

सर्वसाधारणका लागि राहत पुग्ने कामहरुमा पनि सरकार चुकेको छ । यसबीचमा महँगी शत प्रतिशत भन्दा बढी बढेको नेपाल राष्ट्र बैंकको तथ्यांकबाट देखिन्छ । जसका कारण आम जनताका लागि दैनिक चलाउनै धौ धौ भईरहेको छ । आगामी मंसिरमा हुने आमनिर्वाचनसम्म कार्यकाल रहेको देउवा सरकारबाट निर्वाचन सम्पन्न गर्ने बाहेक अरु उल्लेखनीय काम गर्ने अपेक्षा पनि गर्ने अवस्था छैन ।