२०८१ बैशाख १३ , बिहिवार

नोर्ड स्ट्रीम वानबाट जर्मनी आपूर्ति हुने रूसी ग्यास १० दिन अवरूद्ध हुने

सुनाखरी न्युज/ काठमाडौं –

रूसी ग्यास जर्मनी जाने बल्टिक सागर पाइपलाइन नोर्ड स्ट्रीम वानबाट आपूर्ति अवरूद्ध भएको छ। उक्त पाइपलाइनको रूसी-समर्थक सञ्चालकले वार्षिक तालिका अनुसार मर्मतसम्भारका लागि भन्दै १० दिन आपूर्ति बन्द गर्न लागेको हो।

 

यद्यपि, जर्मनीका मन्त्रीहरू बर्लिनमाथि दबाब दिन राजनीतिक रूपले उक्त कदम चालिएको आरोप लगाएका छन्। यसैबीच जर्मनीका अर्थमन्त्री रोबर्ट ह्याबेकले रूसबाट ग्यास आपूर्ति बन्द हुने सम्भावनाबारे युरोपेली देशहरू तयार रहनुपर्ने बताएका छन्। जर्मनीको ऊर्जा नियामकले पनि विगतकै परिमाणमा ग्यास आपूर्ति हुनेमा आसंका गरेको छ।

 

यसअघि नै साबिकमा हुनेभन्दा ४० प्रतिशत मात्रै ग्यास आपूर्ति हुँदै आएको थियो। चेक रिपब्लिकका उद्योगमन्त्रीसँग संयुक्त विज्ञप्ति जारी गर्दै जर्मनीका अर्थमन्त्री रोबर्ट ह्याबेकले युरोपेली युनियनका सदस्यबीच नै विमति उत्पन्न हुने गरी ग्यास आपूर्तिको मुद्दालाई रूसले उपयोग गरिरहेकोमा चिन्ता व्यक्त गरे।उनले युक्रेन युद्धका कारण रुसमाथि लागेको ईयू प्रतिबन्धको प्रतिक्रियामा क्रेमलिनले ग्यासलाई अस्त्रका रूपमा प्रयोग गरेको आरोप लगाए।

 

उक्त पाइपलाइन बन्द हुँदा इटालीलाई पनि असर परिरहेको छ। त्यहाँको एउटा ऊर्जा समूहले सोमबार पछिल्ला केही दिनमा पाइरहेको भन्दा एक तिहाइ मात्र ग्यास रूसी कम्पनी ग्याजप्रोमबाट पाएको बताएको छ। अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी प्रमुखले रूसले पुरै युरोपमा ऊर्जा कटौती गर्नसक्ने भन्दै त्यसका लागि युरोप तयार हुनुपर्ने जनाएका छन्।

 

नयाँ भुक्तानी योजना पालन गर्न अस्वीकार गरेपछि रूसले यसअघि नै पोल्यान्ड, बुल्गेरिया, नेदरल्यान्ड्स, डेनमार्क र फिनल्यान्डमा ग्यास कटौती गरिसकेको छ। तर फेब्रुअरीमा युक्रेनमा रुसले आक्रमण गरेपछि जर्मनीले रुसमा ग्यासमाथिको निर्भरता ५५ प्रतिशतबाट घटाएर ३५ प्रतिशतमा झारिसकेको छ। एजेन्सी