२०८० चैत्र १६ , शुक्रवार

एउटै अकाउन्टबाट एकसाथ दुईवटा मोबाइलमा ह्वाट्सएप चल्ने फिचर आउँदै

सुनाखरी न्युज/ काठमाडौं –

लोकप्रिय मेसेजिङ एप ह्वाट्सएपमा छिट्टै नै नयाँ फिचर आउने भएको छ । यो फिचर सुरु भएसँगै अब ह्वाट्सएप प्रयोगकर्ताले आफ्नो एउटै अकाउन्ट दुईवटा मोबाइल फोनबाट चलाउन सक्नेछन् ।

 

केही समय अगाडि मात्रै च्याट प्लेब्याक तथा अन्डु डिलिट जस्ता फिचर सुरु गरेको ह्वाट्सएपले दुईवटा फोनमा एउटै अकाउन्ट चलाउन मिल्ने फिचर ल्याउन लागेको WABetaInfo ले जनाएको छ । ह्वाट्सएपका फिचरहरु ट्रयाक गर्ने वेबसाइट WABetaInfo का अनुसार ह्वाट्सएपले एकभन्दा बढी स्मार्टफोनमा आफ्नो ह्वाट्सएप अकाउन्ट एकसाथ लगइन गर्ने र अन्य डिभाइसमा च्याट हिस्ट्रीलाई तुरुन्तै सिंक गर्ने सुविधा दिनेछ ।

 

साथै एक भन्दा बढी स्मार्टफोनबाट च्याट तथा भिडियो कल समेत गर्न सकिनेछ । हाल ह्वाट्सएप प्रयोगकर्ताले एउटा स्मार्टफोनसँगै डेस्कटप कम्प्युटर तथा ल्यापटप गरी अन्य तीनवटा डिभाइसमा एउटा ह्वाट्सएप अकाउन्ट लगइन गर्न सक्दछन् । तर एकभन्दा बढी स्मार्टफोनमा एकैपटकमा एउटा अकाउन्ट लगइन गर्ने सुविधा उपलब्ध छैन । प्रयोगकर्ताहरुले एकभन्दा धेरै मोबाइल फोन चलाउने भएपनि एक पटकमा एउटा मोबाइलमा मात्र ह्वाट्सएप अकाउन्ट लगइन गर्न सक्दछन् ।

 

नयाँ फिचर आएसँगै प्रयोगकर्ताले थप एउटा मोबाइल फोनमा ह्वाट्सएप अकाउन्ट लगइन गर्न सक्नेछन् । यो फिचर सुरु हुनका लागि केही हप्तादेखि महिनासम्म लाग्नसक्ने बताइएको छ । एजेन्सीको सहयोगबाट