२०८१ बैशाख ७ , शुक्रवार

दुनियाँकै अनौठो आइसक्रिम आगोमा पनि नपग्लिने

सुनाखरी न्युज / काठमाडौं –

छिमेकी मुलुक जनसंख्या र भूगोलमा जति विशाल छ विचित्रतामा पनि उत्तिकै व्यापक छ । चिनियाँ उत्पादनहरू विश्व बजारभर पुगेका छन् र निकै लोकप्रिय पनि छन् ।

 

हालै चीनले एउटा अनौठो आइसक्रिम बनाएको छ । यो आइसक्रिम नपग्लिने आइसक्रिम (मेल्ट प्रुफ) हो । गर्मी तथा आगोमा राख्दासमेत यो आइसक्रिम पग्लिंदैन । आमरुपमा फ्रिज बाहिर निकालेको केही समयमै आइसक्रिम पग्लिन सुरु गर्दछ । तर चीनले यस्तो अजम्बरी आइसक्रिम बनाएको छ जसलाई आगोले पनि पगाल्न सक्दैन ।

 

आगोले पनि पगाल्न नसक्ने उक्त आइसक्रिमको नाम Hermes of Ice Cream हो । हर्मेस एक ग्रिक देवताको नाम हो जसलाई प्राचीन ग्रिक संस्कृतिमा संरक्षण देवताको रुपमा मानिन्छ । आगोमा पनि नपग्लिने यो आइसक्रिमको मूल्य पनि केही महँगो नै हुनेभयो स्वभाविक रुपमा । यसको मूल्य ६६ चिनिया युआन अर्थात् करिब १४ सय रुपैयाँ पर्ने बताइएको छ । डेलिस्टारको रिपोर्ट अनुसार यो आइसक्रिम निर्माता कम्पनीले यसमा क्याराजिनन गम मिसाएको छ जुन एक सामुदि्रक वनस्पती हो ।

 

सोही गमका कारण यो आइसक्रिमले आफ्नो आकार लिइरहन्छ । स्मरण रहोस् यसअघि अन्य देशले पनि नपग्लिने आइसक्रिम बनाइसकेका छन् । ग्यास्ट्रोनट नामक कम्पनीले सन् २०१६मा यस्तै नपग्लिने आइसक्रिम बनाएको थियो । त्यस्तै जापानले सन् २०१८ मा यस्तै आइसक्रिम बनाएको थियो । त्यसैगरी अस्ट्रेलियाले पनि आइसक्रिम स्याण्डविच बनाएको थियो जुन घण्टौँसम्म बाहिर राख्दासमेत पग्लिंदैनथ्यो । एजेन्सी