२०८० चैत्र ६ , मंगलबार

पृथ्वीबाट १६ लाख किलोमिटर टाढा पुगेको टेलिस्कोपले पठाएको पहिलो तस्बिर सार्वजनिक

सुनाखरी न्युज /काठमाडौं –

अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार ह्वाइट हाउसमा आयोजित कार्यक्रममा एउटा तस्बिर सार्वजनिक गरेका छन्। त्यो तस्बिर पृथ्वीबाट १६ लाख किलोमिटर टाढा पुगेको टेलिस्कोपले पठाएको हो।

 

अमेरिकी अन्तरिक्ष संस्था नासाको जेम्स बेव स्पेस टेलिस्कोपले पठाएको उक्त तस्बिरमा ब्रह्माण्डको अहिलेसम्मकै फराकिलो र पुरानो चित्र कैद भएको छ। वैज्ञानिकहरूले यो १४ अर्ब वर्षअघि भएको बिग ब्याङ्गको केही समयपछिको तस्बिर भएको बताएका छन्। उक्त तस्बिर कैयौं तारा, ग्यालेक्सीहरूले भरिएको छ।

 

तस्बिर सार्वजनिक गर्नुअघि बाइडेनले भने- यो ब्रह्माण्डको इतिहास सबैभन्दा पुरानो १३ अर्ब वर्षअघिको प्रकाशको संग्रह हो–म फेरि भन्छु १३ अर्ब वर्ष पहिलाको। यो मापन गर्न निकै कठिन छ। जेम्स वेब स्पेस टेलिस्कोपले पठाएका थप तस्बिरहरू नासाले मंगलबार सार्वजनिक गर्दैछ। नेपाली समयअनुसार मंगलबार राती ८:२० बजे नासाको उक्त कार्यक्रम अनलाइनमा हेर्न सकिनेछ।

 

१० अर्ब डलर खर्चेर बनाइएको जेम्स वेब स्पेस टेलिस्कोप गत वर्ष डिसेम्बर २५ मा पृथ्वीबाट लन्च गरिएको थियो। आकाशमा पठाइएको यो अहिलेसम्मकै शक्तिशाली र ठूलो टेलिस्कोप हो। जनवरीमा यो टेलिस्कोप पृथ्वीबाट १० लाख माइल (१६ लाख किलोमिटर) टाढा पुगेको थियो। अहिले त्यही ठाउँमा रहेर यसले काम गरिरहेको छ। नासाले यो टेलिस्कोप लन्च गर्न युरोपियन र क्यानडियन स्पेस एजेन्सीहरूसँग मिलेर काम गरेको छ।

 

यसको निर्माणमा २० हजार बढी इन्जिनियर, खगोलविद्, प्राविधिक र कर्मचारीको भूमिका छ। जेम्स वेब स्पेस टेलिस्कोपका दुइटा मुख्य लक्ष्य छन्। पहिलो, ब्रह्माण्डको सबैभन्दा सुरूको अवस्थाबारे जानकारी लिने र दोस्रो, प्राणी बाँच्न सक्ने पृथ्वीजस्तै अर्को ग्रह भए/नभएको पत्ता लगाउने। वैज्ञानिकहरूले यो टेलिस्कोपले गर्ने काम ब्रह्माण्डको अन्वेषणमा नयाँ कोशेढुंगा सावित हुने अपेक्षा गरेका छन्।
एजेन्सी