२०८१ बैशाख ६ , बिहिवार

मन्त्री भुसाल र लिउले शुरुआत गर्नुभयो –‘स्माइलिङ चिल्ड्रेन’ परियोजना

सुनाखरी न्युज/ काठमाडौं । ऊर्जा, जलस्रोत सिँचाइमन्त्री पम्फा भुसाल र नेपाल भ्रमणमा रहनु भएका चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) विदेश विभाग प्रमुख लिउ जियानचाओले संयुक्तरुपमा ‘स्माइलिङ चिल्ड्रेन’ परियोजनाको शुरुआत गर्नुभएको छ । काठमाडौँको शान्ति निकुञ्ज माध्यमिक विद्यालयका विद्यार्थीलाई खाना खुवाएर उहाँहरूले सो परियोजनाको शुरुआत गर्नुभएको हो ।

 

त्यस अवसरमा मन्त्री भुसालले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनासँगै नेपाल विकास समृद्धिको बाटोमा अगाडि बढेको बताउनुभयो । उहाँले नेपालको समृद्धि यात्रामा गति प्रदान गर्न छिमेकी चीनको प्राविधिक अनुभव र आर्थिक सहयोग आवश्यक पर्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “संविधानमा उल्लेख भएका मौलिक हक कार्यान्वनका लागि आर्थिक विकास अपरिहार्य छ । त्यसका लागि हामीलाई चीन सहयोग आवश्यक छ ।”

 

सो अवसरमा मन्त्री भुसालले नेपालको औद्योगिकीरण एवं आर्थिक विकासमा चीनको सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।शाताब्दीऔँदेखि नेपाल–चीनबीच जनस्तरको सम्बन्ध प्रगाढ रहँदै आएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध शान्ति र सहअस्तित्वका आधारमा अझ प्रगाढ बन्दै गएको छ । यो सम्बन्ध आपसी विश्वास, सहकार्य, सहयोग र सम्मानसहित पञ्चाशीलका आधारमा स्थापित छ ।”

 

खासगरी चीनको आर्थिक तथा प्राविधिक सहयोगबाट भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा, जलस्रोत र खेलकुदको विकासमा महत्वपूर्ण योगदान पुगेको बताउँदै मन्त्री भुलालले नेपालको शैक्षिक विकास तथा गरिबी निवारणका क्षेत्रमा पनि चीनको सहयोग रहेको उल्लेख गर्नुभयो । चीनले उच्च शिक्षाका लागि नेपाली विद्यार्थीलाई महत्वपूर्ण अवसर दिँदै आएको उहाँले स्मरण गर्नुभयो । चीन नेपालको सुखदःुखको साथी रहेको बताउँदै मन्त्री भुसालले विसं २०७२ को भूकम्प र कोभिड महामारीमा चीनले पु¥याएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो ।

 

सो अवसरमा चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपाल चीनको असल छिमेकी भएको बताउँदै आगामी दिनमा दुई देशबीचको सम्बन्ध जनस्तरमा थप विस्तार हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “महान मुलुक नेपाल चीनको असल छिमेकी साझेदार हो, हाम्रो जनस्तरको सम्बन्ध अझ प्रगाढ हुँदै गएको छ ।” बालबालिकाहरू देशको भविषय भएको बताउँदै लिउले भन्नुभयो, “बालबालिका नेपाल–चीन मितेरीको भविष्य हो । बालबालिकाको खुशीले दुई देशको सम्बन्धमा नयाँ आयाम थप्न सहयोग गर्छ, सम्बन्धलाई अझ बजबुत बनाउँछ ।

 

उहाँहरू नेपाल–चीन सम्बन्धको नयाँ बीउ हो ।” उहाँले ग्लोबल डेभलपमेन्ट तथा साउथ–साउथ कोपरेशन फन्डमार्फत नेपालको शैक्षिक विकासमा निरन्तर सहयोग गर्ने विश्वास दिलाउनुभयो । कार्यक्रममा ‘स्माइलिङ चिल्ड्रेन’ परियोजना नेपालका ३५ स्कूलमा लागू भएको र ५ लाख बालबालिका लाभान्वित भइरहेको जानकारी दिइयो ।