२०८१ बैशाख ७ , शुक्रवार

८४ करोडको हतियार खरिद गर्न लागिएको भन्दै संसदमा एमालेको विरोध

सुनाखरी न्युज/ काठमाडौं । नेकपा एमालेका सांसद नवराज सिलवालले गठबन्धन र सरकारले कमिसन खानकै दागि नेपाल प्रहरीलाई आवश्यक नभएपनि ८४ करोडको हतियार खरिद गर्न लागिएको भन्दै त्यसको विरोध गरेका छन् ।

 

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सिलवालले गठबन्धनका नेताहरुलाई पैसा जम्मा गर्न हतियार खरिद गर्न अर्थमन्त्रीले जाँदाजाँदै हतियार किन्न राज्यकोषको रकम रकमान्तर गरेको आरोप लगाए । नेपाल प्रहरीलाई आज हतियार चाहिने अवस्था छैन ।

 

प्रहरीका अधिकारीहरुलाई सोध्दा कसैलाई हतियार किन्ने जानकारी पनि छैन । नेपाल प्रहरीलाई अहिले व्यारेक र प्रविधि चाहिएको छ’, सिलवालको भनाइ छ । उनले ११५० थान सटगन, एकहजार थान पेस्तोल र २५ हजार थान सेललगायतका हतियार खरिद गर्ने भन्ने बाहिर आइरहेको भन्दै यदि ति हतियारहरू खरिद गरिए राष्ट्रघात हुने बताए ।

 

उनले गठबन्धनलाई कमिसन र पैसाको लोभमा राष्ट्रको अर्थतन्त्र तहसनहस बनाउन लागिएको बताए । उनले ति हतियारको मूल्य ८४ करोडको एक तिहाइ पनि नपर्ने तर मूल्य बढाएर कमिसनकै लागि हतियार किन्न लागिएको आरोप लगाए ।