२०८१ बैशाख ८ , शनिवार

भारतमा २४ घण्टामा १८ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि

सुनाखरी न्युज/ काठमाडौं –

शनिबार मध्यरातसम्म अर्थात २४ घण्टाको समयावधिमा भारतमा १८ हजार २५७ कोरोना सङ्क्रमित थपिएका छन् । हाल भारतमा एक लाख २८ हजार ६९० सक्रिय सङ्क्रमित रहेका छन् ।

 

यो कुल सङ्क्रमितको ०.३० प्रतिशत हो । करिब चार महिनापछि १० दिनयता सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी भएको छ । हाल भारतमा कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या चार करोड ३६ लाख भन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ । पछिल्लो एक दिनमा १४ हजार ५५३ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् ।

 

योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड २९ लाख ६८ हजार ५३३ पुगेको छ । कोरोना भाइरस निको हुने यो दर ९८.५० प्रतिशत रहेको छ । चौबिस घण्टाको समयावधिमा कोरोना सङ्क्रमणमा ४२ को मृत्यु भएको छ । कोरोना शुरु भएबाट हालसम्म यस महामारीको कारण पाँच लाख २५ हजार ४२८ को मृत्यु भएको छ । २४ घण्टाको सो अवधिमा चार लाख ३२ हजार ७७७ कोरोना परिक्षण भएको जनाइएको छ ।

 

यहाँ कोरोना सङ्क्रमण शुरु भएबाट हालसम्म ८६ करोड ६६ लाख भन्दा बढीको कोरोना भाइरस परीक्षण भएको बताइएको छ । २४ घण्टाको समयावधिमा दश लाख २१ हजार १६४ डोज कोरोनाविरुद्धको खोप लगाइएको सो मन्त्रालयले आइतबार जानकारी दिएको छ । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म कोरोनाविरुद्ध एक अर्व ९८ करोड ७६ लाख ५९ हजार २९९ डोज खोप लगाइएको छ । एजेन्सी