२०८० चैत्र १५ , बिहिवार

अनौठो कुप्रथा : जहाँ ८ सय रुपैयाँमै पाइन्छ अर्काकी पत्नी भाडामा

सुनाखरी न्युज/ काठमाडौं –

वर्तमान आधुनिक युगमा विश्वका महिलाहरु अगाडि बढिरहेका मात्र छैनन् पुरुषहरुसँग काँधमा काँध मिलाउन सक्षम भैसकेका छन् । तर सबै महिलाको अवस्था समान छैन ।

 

अशिक्षा, गरिबी, अन्धविश्वास, दमन तथा विभेद र थिचोमिचो तथा कुप्रथाहरुका कारण धेरै महिलाहरु अहिले पनि नारकीय तथा दोस्रो दर्जाको जीवन जिउन बाध्य छन् । छिमेकी मुलुक भारतमा पनि यस्तै एउटा दर्दनाक कुप्रथा छ जसले महिलाहरुलाई निकै सस्तो भाडाको वस्तु बनाइरहेको छ । भारतको मध्यप्रदेश र गुजरातका कतिपय गाउँहरुमा यो कुप्रथा कायम छ ।

 

जसमा पुरुषहरुले अर्काकी पत्नीलाई निकै सस्तो मूल्यमा भाडामा लिन पाउँछन्, त्यो पनि वर्ष दिनको लागि । अर्काकी पत्नी भाडामा लिने त्यो कुप्रथाको नाम ‘धडीचा’ हो । मध्यप्रदेशको शिवपुरी गाउँमा धडीचा कुप्रथा अहिले पनि कायमै छ । उक्त गाउँमा हरेक वर्ष एक हाट बजार लाग्दछ जसमा महिलाहरुको लिलामी हुन्छ । उक्त हाटबजारमा पुरुषहरुले आफूलाई मन परेको कुनै पनि महिला तथा युवतीलाई भाडामा लिन सक्दछन् । उक्त हाट बजारमा विवाहित महिला तथा अविवाहित युवतीहरुको लिलामी हुन्छ ।

 

त्यसबाट पुरुषहरुले अर्काकी छोरी वा पत्नीलाई केही दिन, महिना वा वर्षसम्म आफ्नै पत्नी बनाउनका लागि भाडामा लिन्छन् । ती महिला वा युवती कतिसम्म बेचिन्छन् भन्ने कुराको तय त्यो व्यक्तिले कति रुपैयाँ दिनसक्छ भन्ने कुरामा निर्भर रहन्छ । उक्त गाउँमा महिला भाडामा लिने हाटबजार लागेको बेला टाढा टाढाबाट समेत पुरुषहरु आउने गर्दछन् । हाटबजारबाट महिला भाडामा लिँदा १० भारुदेखि १ सय भारुको एक टिकट टाँसिएको सम्झौता पत्रमा सहीछाप गर्नुपर्दछ ।

 

उक्त सम्झौता अनुसार एक वर्ष वा त्योभन्दा लामो समयसम्म महिलालाई आफूसँग राख्नका लागि तय गरिएको रकम पनि भुक्तान गर्नुपर्दछ । सम्झौता अवधिभर महिलालाई भाडामा लिएर आफूसँग राख्ने पुरुषले समय सकिएपछि महिलालाई त्यहीँ ल्याएर फिर्ता दिनुपर्दछ वा थप रकम तिरेर सम्झौता नवीकरण गर्न सक्छ । यसरी भाडामा लिनका लागि महिलाको उमेर, सुन्दरता लगायतका शारीरिक अवस्था हेरेर ५ सय भारुदेखि ५० हजार भारुसम्मको रकम तोकिएको हुन्छ ।

 

उक्त रकम सम्बन्धित महिला तथा युवतीको घरपरिवारलाई भुक्तान गर्नु पर्दछ । सम्झौता पश्चात् भाडामा लिने पुरुषले महिलासँग विवाहको औपचारिकता पूरा गर्दछ । सम्झौता अवधिभर उनीहरुबीच लोग्ने–स्वास्नीको सम्बन्ध रहन्छ । यदि पुरुषलाई सम्झौता अवधि थप गर्ने इच्छा जाग्यो भने उसले थप रकम दिएर सम्झौता नवीकरण गर्न सक्दछ । हुनत महिलाले चाहेको खण्डमा भाडा सम्झौता तोड्न पनि सक्दछन् तर त्यसबापत उनीहरुले तय रकम उक्त पुरुषलाई बुझाउनु पर्दछ ।

 

यो कुप्रथा गुजरातका विभिन्न गाउँमा पनि कायमै छ । अर्काकी छोरी तथा पत्नीको लिलामी गरेर भाडामा लिने यो कुप्रथा अभिसाप नै हो र यसलाई रोक्नका लागि प्रशासनले पनि सख्त कदम उठाउने गरेको छ । तर अन्धविश्वास तथा अशिक्षा व्याप्त गाउँहरुमा लुकिछिपी पनि यस्तो प्रथा चलिरहेको छ । –एजेन्सीको सहयोगमा