२०८० चैत्र १५ , बिहिवार

बुटवल–लुम्बिनी प्रसारण लाइन सञ्चालमा, भैरहवा क्षेत्रको विद्युत आपूर्ति सुधार हुने

सुनाखरी न्युज/ काठमाडौं । रुपन्देहीको भैरहवा क्षेत्रको विद्युत आपूर्तिमा सुधार र प्राविधिक चुहावट नियन्त्रणका लागि योगीकुटी (बुटवल)बाट मैनहियासम्मको १३२ केभी डबल सर्किट प्रसारण लाइन सञ्चालनमा आएको छ ।

 

नेपाल विद्युत प्राधिकरणले बुटवल सबस्टेसनबाट मैनहिया सबस्टेसनसम्मको १८ किलोमिटर बुटवल–लुम्बिनी प्रसारण लाइनमा बुधबारबाट विद्युत प्रवाह (चार्ज) गरी सञ्चालनमा ल्याएको छ । प्रसारण लाइनको निर्माणसँगै करिब २०० मेगावाट विद्युत प्रवाह हुनसक्ने पूर्वाधार तयार भएको छ ।मैनहियामा १३२÷३३÷११ केभीको सबस्टेसन निर्माण गरिएको छ । सबस्टेसनमा ४५ एमभीए क्षमताका दुईवटा पावर ट्रान्सफर्मर र ३३÷११ केभी, १६ एमभीए पावर ट्रान्सफर्मर रहनेछन् ।

 

प्रसारण लाइन सञ्चालनमा आएसँगै बुटवल, भैरहवा क्षेत्रको विद्युत आपूर्तिमा सुधार हुने र उद्योगहरुलाई मागेजति विद्युत दिन सकिने आयोजनाका प्रमुख हरीप्रसाद पाण्डेले बताउनुभयो । स्थानीय रुपमा विद्युत आपूर्तिका लागि मैनहिया सबस्टेसनबाट ३३ केभीका १० वटा फिडर निकालिने छ । त्यसमध्ये ४ वटा फिडरको लाइन तानिएको पाण्डेले उल्लेख गर्नुभयो । १८ किलोमिटर प्रसारण लाइनमा ५७ वटा टावरको निर्माण गरिएको छ । बुटवल बजार क्षेत्रमा १३२ केभी प्रसारण लाइनलाई २ किलोमिटर भूमिगत गरिएको छ । प्रसारण लाइन आयोजनाको प्रारम्भिक काम आर्थिक वर्ष २०७०÷०७१मा सुरु भएको थियो । रुट परिवर्तन, कोभिड–१९को महामारीलगायतका कारणले आयोजनाको निर्माणमा केही ढिला भएको थियो ।

 

 

मैनहिया सबस्टेसनबाट भारतको उत्तरप्रदेशसँग विद्युत प्रवाहका लागि १३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण भइरहेको छ । मैनहिया सबस्टेसनबाट भारतको उत्तर प्रदेशस्थित सम्पत्तिया (न्यू नौतनुवा) सबस्टेसन जोड्ने प्रसारण लाइनको निर्माण अन्तिम चरणमा छ । अहिले उत्तर प्रदेशसँग ३३ केभीको मात्र प्रसारण संरचना रहेकोमा मैनहिया–सम्पत्तिया बन्नेपछि नेपाल–भारतबीचको आन्तरदेशीय विद्युत व्यापारलाई अझ सहज बन्ने छ ।