२०८० चैत्र १५ , बिहिवार

प्रविधिमा फड्को मार्दै एनआईसी एशिया बैंक, मोबाइल बैंकिङ एपलाई ओम्नीच्यानल एपमा स्तरोन्नति

सुनाखरी न्युज/ काठमाडौं ।डिजिटल बैंकिङमा अग्रणी स्थानमा रही नवीनतम प्रविधिद्वारा बैंकिङ सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैंकले ओम्नीच्यानल प्रणालीमा आधारित मोबाइल बैंकिङ एप (एनआईसी एशिया मोबैंकको शुभारम्भ गरेको छ।

 

‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीतिअनुरुप सम्पूर्ण बैंकिङ सेवा तथा सुविधा क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने उद्देश्यले बैंकले यस ओम्नीच्यानल एपमार्फत जुनसुकै स्थानबाट, जुनसुकै समयमा स्मार्ट फोनबाटै अधिकतम बैंकिङ सेवाहरु उपभोग गर्न मिल्ने हिसाबले बैंकमा खाता भएका एवं नभएका ग्राहकलाई लक्षित गर्दै यो नयाँ सेवाको शुभारम्भ गरेको हो। हालका एनआईसी एशिया मोबैंक प्रयोगकर्ताले वर्तमान एनआईसी एशिया मोबैंक एपलाई अपडेट गरी ओम्नीच्यानल एपमा स्तरोन्नति गर्न सक्नेछन् भने नयाँ ग्राहकले प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गरी प्रयोग गर्न सक्नेछन्।

 

‘सबथोक यसमै छ’ भन्ने नाराका साथ सुरु गरिएको ओम्नीच्यानल एपबाट ग्राहकले अधिकतम बैंकिङ सेवाहरु सहज एवं सरल रुपमा उपभोग गर्न सक्नेछन् र निकट भविष्यमा अझ बढी सेवाहरु यसै एपमार्फत दिन तयारी बैंकले गरिरहेको छ। स्तरोन्नतिपश्चात यस एपबाट ग्राहकले नगद जम्मा तथा चेक जम्मा गर्न आवेदन दिनेदेखि नयाँ डेबिट कार्ड तथा प्रिपेड डलर कार्ड अनुरोध, मुद्दति खाता खोल्न, चेक अनुरोध, ई–कमर्श सुचारु, स्किम ट्रान्सफर, लकर सुविधा लिनलगातका धेरैभन्दा धेरै बैंकिङ सेवा ओम्नीच्यानल एपमार्फत डिजिटल प्राप्त गर्न सक्नेछन्।

 

यसका साथै एनआईसी एशिया बैंकमा खाता नहुनेहरुले पनि यस एप डाउनलोड गरी डिजिटल वालेटका रुपमा प्रयोग गर्न सक्नेछन्। जसबाट समेत क्यूआर भुक्तानी, युटिलिटी बिल भुक्तानीलगायत अनेकौँ सेवा लिन सकिनेछ। ग्राहकको उक्त वालेटमा केवाईसी अद्यावधिक गरेपश्चात् भने सो वालेट प्रयोगकर्तालाई बैंकको खातावाला बन्न समेत सकिने व्यवस्था रहेको छ। बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५९ शाखा कार्यालयहरु, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन पुगेको छ।

 

देशको कुल जनसंख्या मध्ये २० वर्ष देखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ। उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.३ अर्ब १६ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ। जुन मुलुकको वाणिज्य बैंकहरुमध्ये दोस्रो धेरै एवं समग्र देशको अन्य कम्पनीहरुको तुलनामा छैठौं ठूलो योगदान रहेको छ।

 

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरुमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ। देशको कुल जनसंख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरु स्थापना गरेको छ।