२०८१ बैशाख १३ , बिहिवार

बालेनको जितमा पत्नीको बधाई सन्देश : ‘घरभित्रबाट जितेर हिंडेको मानिसको बाहिर कहिले पनि हार हुँदैन’

सुनाखरी न्युज/ काठमाडौं –

काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि अहिले बालेन साहलाई बधाई दिनेको ओइरो छ । सामाजिक सञ्जाल देखि प्रतक्ष्य रुपमा भेटेरै उनलाई बधाई दिनेको लर्को छ ।

 

बालेनले उम्मेदवारी दिए लगत्तै मिडियाको आकर्षणमा परेकी सबिनाको अहिलेको चर्चा सेलिब्रिटीको भन्दा कम छैन । सबिनाले फेसबुकमार्फत मर्मस्पर्शी बधाई दिएकी छन् । उनको यो बधाई अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । उनी लेख्छिन्, आज तिमी मेरो बालेनबाट हाम्रो बालेन भएका छौ र यसो भनिरहँदा मेरो मन अलिकति पनि खुम्चिएको छैन बरु गर्वले छाती फुलेको छ, शिर उचालीएको छ ।

 

तिम्रो संयमता नै तिम्रो शक्ति हो । दिन रात नभनी तिमीले गरेको मिहेनतको फल आज सबै सामु प्रष्ट छ । तिम्रो धैर्यता र दृढतालाई कोटी कोटी नमन् ! घरी घरी डर पनि लाग्छ , अगाडि विशाल भवसागर छ , बाधा अड्चन चुनौतीहरूको अड्कल काट्न पनि मन डराउँछ तर फेरि जनमानसमा तिमी प्रतिको विश्वास सम्झन्छु, उहाँहरुको माया सम्झन्छु, उहाँहरुको साथ सम्झन्छु, तिम्रो दृढता सम्झन्छु अनि मन ढुक्क हुन्छ ।

 

चुनौतीहरु धेरै आउलान् तर तिमीले भन्ने गरेजस्तै गारो होला तर असम्भव छैन । तिमीलाई आफ्नो कार्यकालमा कहीँकतै नडगमगिने शक्ति मिलोस् ।अब तिमीले जीवनमा पछाडि फर्केर कहिले हेर्न नपरोस् । पछाडि हेर्न परे पनि कृतज्ञताका लागि मात्र होस् । तिम्रा पाइला अगाडि मात्र बढिरहुन् , ती अगाडि बढिरहेका पाइलासँग साथमा साथ हिँड्न मेरो प्रेम, मेरो विश्वास , मेरो साथ अनि समर्थन तिमीसँग सदैव हुनेछ ।

 

‘घर भित्रबाट जितेर हिँडेको मानिसको बाहिर कहिले पनि हार हुँदैन । म तिमीलाई कहिले हार्न दिने छैन । मेरा हरेक प्रार्थनामा तिम्रो सफलता हुनेछ ।’ तिमीलाई हार्दिक बधाई । मलाई हार्दिक बधाई । हामी सबैलाई हार्दिक बधाई ।