२०८१ बैशाख ७ , शुक्रवार

केएमसीले बालबालिकालाई निःशुल्क ‘पोषण प्याकेट’ दिँदै

सुनाखरी न्युज / काठमाडौँ – केएमसी अस्पतालले ६ महिनादेखि २ वर्ष सम्मको कुपोषण भएका बालबालिकालाई निःशुल्क ‘पोषण प्याकेट’ उपलब्ध गराउने भएको छ । केएमसी अस्पताल र बलियो नेपाल न्यूट्रिसनबिच सम्झौता भई भोलिदेखि नै सञ्चालनमा आउने गरी ‘पोषण प्याकेट’ उपलब्ध हुने केएमसीका जनरल म्यानेजर नारायण दाहालले जानकारी दिए । सम्झौता कार्यक्रममा अस्पतालका निर्देशक डा। सुमन श्रेष्ठ र प्रशासकीय अधिकृत प्रेम थापाको समेत उपस्थिति रहेको थियो ।

कुपोषण भएका बालकालिकालाई ध्यानमा राखी कार्यक्रम सञ्चालन गर्न लागिएको र पोषण प्याकेटमा बालबालिकालाई अति आवश्यक पर्ने तत्व सहितको पोषणयुक्त लिटोको पिठो हुने बाल चिकित्सक पावना कायस्थले जानकारी दिइन् । कार्यक्रमका लागि केएमसीमै पोषण क्लिनिक समेत सञ्चालन गरिने उनले बताइन् । क्लिनिक दिउँसो २ बजेदेखि सञ्चालन नियमित रूपमा सञ्चालन हुनेछ ।

केएमसीमा निःशुल्क उपलब्ध गराइने पोषण प्याकेट प्रत्येक कुपोषणको सिकार भएका शिशुलाई दिनको एक पटक खानलाई तिन महिना सम्म पुग्ने डा। पावनाले बताइन् । प्रत्येक पोषण प्याकेट २५ ग्रामको हुनेछ ।

त्यस्तै, केएमसीले सेवा लिन आउने बिरामी तथा सेवाग्राहीका लागि विभिन्न लाभदायी कार्यक्रम सञ्चालन गर्दै आएको र भावी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने अस्पतालका अध्यक्ष सुनिल शर्माले बताए ।