२०८१ बैशाख १२ , बुधवार

कल्याण शेरचनको जयन्तीमा लोकदोहोरी प्रतियोगिता हुने

नारायण क्षेत्री/ पोखरा । लोक स्रष्टा कल्याण शेरचनको ७५ औं जयन्तीको अवसरमा कल्याण शेरचन स्मृति प्रतिष्ठानले पोखरामा साउन १२ देखि १४ गतेसम्म राष्ट्रिय खुल्ला लोकदोहोरी प्रतियोगिता आयोजना गर्ने भएको छ ।

 

पोखरासभागृहमा हुने प्रतियोगिता सम्पन्न गर्न इन्द्रेणी साँस्कृतिक विकास केन्द्रले साथ दिने भएको छ । त्यस्तै प्रतियोगिताका लागि राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान नेपाल, गण्डकी प्रज्ञाप्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठान लगायतले सहकार्य गर्ने भएका छन् । कार्यक्रम सम्पन्न गर्न करिब ३९ लाख खर्च लाग्ने र ५५ लाख आम्दानी गरी वचत रकमबाट लोक स्रष्टा शेरचनको शालिक बनाउने योजना रहेको कल्याण शेरचन स्मृति प्रतिष्ठानका अध्यक्ष क्या.पुर्णबहादुर ह्योल्मोले जानकारी दिए ।

 

प्रतियोगितालाई सफल बनाउन मुस्ताङबाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रेमप्रसाद तुलाचन र गण्डकी प्रदेशसभा सदस्य इन्द्रधारा बिष्टले सक्दो सहयोग गर्ने बताएका छन् । प्रतियोगिता सम्पन्न गर्न प्रतिष्ठानले विभिन्न १० उपसमितिहरुको गठन गरेको प्रतिष्ठानका सचिव जीवन दाहालले जानकारी दिए । यस अघि शेरचनको जयन्तीमा काठमाण्डौं र पोखरामा खुल्ला मादल बादन प्रतियोगिता, सारङ्गी उत्सव, एकल राष्ट्रिय नृत्य प्रतियोगिता सम्पन्न भइसकेको छ ।