२०८१ बैशाख ८ , शनिवार

होटल संघ गण्डकीको अध्यक्षमा शर्मा

नारायण क्षेत्री/ पोखरा । होटल संघ नेपाल (हान) गण्डकीको अध्यक्षमा पर्यटन व्यवसायी हरिप्रसाद शर्मा गैह्रे निर्विरोध निर्वाचित भएका छन् । गण्डकी प्रदेश स्थिति विभिन्न ११ जिल्लाका होटल संघका अध्यक्षहरुको भेलाले शर्मालाई अध्यक्ष चुन्दै नयाँ कार्यसमिति समेत चयन गरेको छ । शर्मा होटल संघ पोखरा नेपालका पूर्व अध्यक्ष एवं सल्लाहकार हुन् ।

 

भेलाले भरतराज पराजुलीलाई प्रथम उपाध्यक्षको जिम्मेवारी दिएको छ । पराजुली हानका केन्द्रिय सदस्य एवं होटल संघ पोखरा नेपालका पूर्व अध्यक्ष एवं सल्लाहकार पनि हुन् । त्यसैगरी प्रदेश कमिटीको द्वितीय उपाध्यक्षमा तनहुँका होटल व्यवसायी राजकुमार श्रेष्ठलाई चयन गरिएको छ । गोर्खाका व्यवसायी मनप्रसाद धितालले सचिवको जिम्मेवारी पाएका छन् भने पर्वतका होटल व्यवसायी कृष्णप्रसाद श्रेष्ठ कोषाध्यक्षमा चयन भएका छन् ।

 

यसैगरी समितिको सदस्यमा होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदी, बाग्लुङका अध्यक्ष सञ्जयकुमार श्रेष्ठ, म्याग्दीकी अध्यक्ष सिर्जना भट्टचन, तनहुँका अध्यक्ष जीवन शाही, नवलपुरका अध्यक्ष डीवी चौधरी र लम्जुङका अध्यक्ष रामकुमार श्रेष्ठ रहेका छन् । स्याङजा, मुस्ताङ र मनाङबाट पनि समितिमा छिटै प्रतिनिधित्व गराइने नवनिर्वाचित अध्यक्ष गैह्रेले जानकारी दिए । सो अवसरमा बोल्दै सबै पदाधिकारी र सदस्यहरुले व्यवसायिक एकतामा जोड दिएका थिए ।

 

होटल क्षेत्रले उद्योग सरहको मान्यता पाउनुपर्ने, पर्यटकको संख्या भन्दा गुणस्तरमा ध्यान दिनुपर्ने र प्रबद्र्धनको कामलाई अगाडि बढाउनुपर्ने उनिहरुको भनाई थियो । नवनिर्वाचित अध्यक्ष गैह्रेले सबै जिल्लाका सबै होटल संघ र सम्बन्धित व्यवसायीलाई समेटेर सबैको सल्लाह र सुझाव अनुसार नै प्रदेश कमिटी अगाडि बढ्ने बताए । हानका केन्द्रिय सदस्य विप्लव पौडेलले प्रदेश कमिटी गठन गर्न केन्द्रबाट पाएको जिम्मेवारी आफूले पूरा गरेको भन्दै नयाँ कमिटीलाई बधाई ज्ञापन गरे ।