२०८१ बैशाख १३ , बिहिवार

७२९ स्थानीय तहको नतिजा आयो

सुनाखरी न्युज/ काठमाडौं । गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको मत गणना अन्तिम चरणतिर पुग्न लागेको छ ।

 

गाउँ,नगर,उपमहानगर र महानगर पालिका गरी ७५३ पालिका रहेकामा अहिलेसम्म ७२९ वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजनिक मत परिणमामा नेपाली कांग्रेसले सबैभन्दा धेरै पालिकामा बर्चस्व राखेको छ । कांग्रेसले ३२० वटा स्थानीय तहको प्रमुखपद जितेको छ भने २९५ वटा तहको उपप्रमुख पद जितेको छ । त्यसैगरी कांग्रेसले २ हजार ६ सय जना वडा अध्यक्ष जितेको छ । कांग्रेस पछि नेकपा एमाले दोस्रो स्थानमा रहेको छ ।

 

एमालेले १९९ वटा स्थानीय तहमा प्रमुख पद जितेको छ भने २२८ वटामा उपप्रमुख पद जितेको छ । उसले २ हजार ८० जना वडा अध्यक्ष जितेको छ ।त्यस्तै नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । उसले १२० वटा स्थानीय तहमा प्रमुख पद जितेको छ भने १२६ वटामा उपप्रमुख जितेको छ । माओवादीले १ हजार ४१ वडा अध्यक्ष हात पारेको छ । यता नेकपा एकिकृत समाजवादीले १७ वटा पालिकामा प्रमुख पद जित्दा २१ वटामा उपप्रमुख पद जितेको छ ।

 

२९ पालिकामा अन्य दल तथा स्वतन्त्र उम्मेदवारहरु प्रमुख पदमा विजयी भएका छन् भने १८ उपप्रमुख पद हात पारेका छन् । त्यस्तै अन्य दल र स्वतन्त्र गरी ५७२ जना वडा अध्यक्ष निर्वाचित भएका छन् । उता जनता समाजवादी पार्टीले २९ वटा स्थानीय तहका प्रमुख जितेको छ भने ३० उपप्रमुख पद जितेको छ । उसले २८३ वडा अध्यक्ष हात पारेको छ । त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीले १५ स्थानीय तहका प्रमुख र ११ वटा स्थानीय तहमा उपप्रमुख हात पारेको छ ।

 

अब २४ वटा स्थानीय तहको नतिजा आउन बाँकी छ । ती मध्ये विभिन्न कारणले केही स्थानीय तहको मतगणना हुन सकेको छैन । बाँकीको भने मतगणना जारी छ । मतगणना जारी रहेका स्थानीय तहमा कांग्रेसले ६ पालिका प्रमुख र ५ उपप्रमुखमा अग्रता लिएको छ । यसैगरी नेकपा एमालेले ६ पालिका प्रमुख र १२ उपप्रमुखमा अग्रता लिएको छ । त्यस्तै माओवादीका उम्मेदवारहरुले २ पालिका प्रमुखमा अग्रता लिएका छन् । उपप्रमुखमा भने कतै अग्रता लिएका छैनन् । त्यस्तै जनता समाजवादी पार्टी नेपालले ३ पालिका प्रमुख र २ उपप्रमुखमा अग्रता लिएको छ । नेकपा एकिकृत समाजवादी २ पालिकाको प्रमुखमा अगाडि छ । लोकतान्त्रिक समाजवादी पार्टी भने १ पालिका प्रमुख र १ उपप्रमुखमा अगाडि रहेको छ । अन्य पार्टीका र स्वतन्त्रले गरी २ वटा पालिका प्रमुखमा अग्रता लिइरहेका छन् ।

 

यो स्थानीय तह निर्वाचनमा राजनीतिक दलका उम्मेदवारहरुले कतिपय स्थानीय तहमा बिगतका एक अर्काका विरासत रहेका किल्ला भत्काएर विजयी भएका छन् । २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमाले पहिलो पार्टी बनेको थियो भने यसपाली दोस्रो भएको छ । त्यतिबेला दोस्रो बनेको कांग्रेस यसपाली भने पहिलो पार्टी बनेको छ । नेकपा माओवादी केन्द्र २०७४ मा पनि तेस्रो पार्टी बनेको थियो अहिले पनि तेस्रो नै बनेको छ ।

 

काठमाडौं,ललितपुर, भरतपुर, पोखरा बीरगञ्ज महानगरपालिकाको पनि मतगणना जारी रहेको छ । त्यहाँ सत्ता गठबन्धनका उम्मेदवारहरु अगाडि छन् । बिराटनगर महानगरपालिकाको परिणाम भने आइसकेको छ । बिराटनगरमा मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।