२०७९ श्रावण २४ , मंगलबार

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति गठन, यस्तो थियो समिति छनौटकाका आधार !

सुनाखरी न्युज/ काठमाडौँ ।
कांग्रेसले ३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको छ । केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले शुक्रबार सभापति शेरबहादुर देउवाद्वारा प्रस्तावित कार्यसम्पादन समितिलाई अनुमोदन गरेको हो ।

कार्यसम्पादन समिति गठनमा वरिष्ठतालाई प्रमुख आधार बनाइएको छ ।  सभापति देउवाले समितिमा १३ जना पदेन पदाधिकारीबाहेक २४ सदस्य मनोनयन गरेका छन् । पूर्वपदाधिकारीहरू रामचन्द्र पौडेल, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, शशांक कोइराला, चित्रलेखा यादव, रामशरण महत, अर्जुननरसिंह केसी, प्रकाशशरण महत र सुनीलबहादुर थापा कार्यसम्पादन समितिमा समेटिएका छन् ।

वरीयताका आधारमा केन्द्रीय सदस्यहरू शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, रमेश रिजाल, नारायण खड्का, जिपछिरिङ लामा, सुजाता कोइराला, एनपी साउद, जीवनबहादुर शाही र आनन्दप्रसाद ढुंगाना समिति सदस्य बनेका छन् । साउदभन्दा माथिल्लो वरीयतामा रहेका पद्मनारायण चौधरी र दिलेन्द्रप्रसाद बडू भने कार्यसम्पादन समितिमा छुटेका छन् ।

कांग्रेस विधानको दफा २३ मा ४७ सदस्यीय कार्यसम्पादन समिति गठन हुने प्रावधान छ । समितिमा १४ जना पदाधिकारी, प्रवक्ता र संसदीय दलका नेता पदेन सदस्य हुन्छन् । हाल कोषाध्यक्ष र प्रवक्ता मनोनीत भएका छैनन् भने संसदीय दलको नेता सभापति स्वयं छन् ।