२०७९ श्रावण २७ , शुक्रवार

आजदेखि क्यूआर सहितको कोभिड खोप कार्ड नागरिक एपबाटै

सुनाखरी न्युज/ काठमाडौं – नेपाल सरकारको मुख्य एपको रुपमा रहेको नागरिक एपको नयाँ अपडेट सार्वजनिक भए साथै कोभिड खोपको लागि आवेदन फर्म भर्न सकिने र क्यूआर कोड सहितको खोपकार्ड लिन सकिने फिचर आएको हो ।

 

बिहीबार रातिदेखि एन्ड्रोइडमा नागरिक एपको अपडेटेड भर्सन १.४.८ आइसकेको छ । आईओएसमा भने अपडेट पठाइसकेको भए पनि रिलिज हुन केही दिन लाग्ने अनुमान गरिएको छ । यस एपबाट आवेदन दिएको १२ देखि २४ घण्टाभित्र स्वास्थ्य सेवा विभागको परिवार महाशाखाबाट स्वीकृत हुने बताइएको छ । त्यसपछि नागरिक एपबाटै पीडीएफमा क्यूआर कोड सहितको कोरोना खोपकार्ड डाउनलोड गर्न सकिनेछ । क्यूआर कोडसहितको विद्युतीय खोप प्रमाणपत्रका लागि अनलाइन आवेदन दिन आफ्नो पूरा नाम, पूरा ठेगाना, जन्म मिति, पेशा, स्वास्थ्य अवस्था, मोबाइल नम्बर र परिचय पत्र नम्बर (नागरिकता, राष्ट्रिय परिचय पत्र, सवारी चालक अनुमतिपत्र, मतदाता परिचय पत्र, पासपोर्ट, अपाङ्गता परिचय पत्र, जन्म दर्ता) आदि लगायतको विवरण खुलाउनुपर्ने हुन्छ ।

 

 

तर कोभिड-१९ को भ्याक्सिन कार्डमा स्थानीय तहको नाम, खोप केन्द्रको नाम र छाप प्रष्ट बुझिने नभएमा क्यूआर कोड भेरिफाइ हुँदैन । यदि त्यस्तो प्रकारको खोप कार्ड छ भने तुरुन्त आफूले खोप लगाएको खोप केन्द्रमा सम्पर्क गर्नुपर्नेछ । नागरिक एपबाटै आफ्नो क्यूआर कोड सहितको सर्टिफिकेट प्रमाणित भए नभएको थाहा पाउन समेत सकिन्छ । तर क फर्जी कागजपत्र अपलोड गरेको भेटिएमा कानूनी कारबाही गरिने बताइएको छ। अनलाइन आवेदन दिने र क्यूआर कोड सहितको कोभिड खोपकार्ड कसरी लिने ? यसका लागि गुगल प्ले स्टोरमा अथवा आईओएस एप स्टोरमा गएर नागरिक एप डाउनलोड गर्नुहोस् । तर यस अघि नै एप डाउनलोड गरिसक्नु भएको छ भने प्ले स्टोरमा गएर त्यसलाई अपडेट गर्नुहोस् ।

 

 

आईओएसका लागि भने यो भर्सनको अपडेट केही दिनमा उपलब्ध हुनेछ । यदि प्ले स्टोरमा त्यसको अपडेट देखिएन भने फोनको सेटिङ हुँदै एप्समा गएर गुगल प्ले स्टोरको क्याश क्लियर गरी पुनः प्ले स्टोरमा गएर अपडेट गर्नुहोस् । एप १.४.८ भर्सनमा अपडेट भइसकेपछि त्यहाँ तपाईँले ‘कोभिड भ्याक्सिनेस’ अप्सन देख्न सक्नुहुनेछ । त्यसमा दबाएर भित्र गइसकेपछि अनलाइन आवेदनका लागि प्रि रजिस्ट्रेसन तथा क्यूआर कोड सहितको खोप कार्डका लागि भेरिफिकेसन अप्सनमा गएर  दायाँ कुनामा रहेको प्लस आइकन थिच्नुहोस् र आवेदन भर्नुहोस् ।