२०७९ श्रावण २५ , बुधवार

विभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा तीन जना पक्राउ

सुनाखरी न्युज/ काठमाडौं – सिरहा जिल्लाको सिरहा नगरपालिका १७ स्थित सीमा ईलाकाबाट माघ १२ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा सोही जिल्लाको कल्याणपुर नगरपालिका २ चतरी बस्ने १८ वर्षिय प्रविण कुमार मुखिया छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका निज मुखियालाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मार्डरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा रेक्सकोफ डिएक्स ३ वटा, डाईजेपाम ईन्जेक्सन ३ वटा र लागूऔषध तान्ने पाईप (ओजीपी) १० वटा फेला पारकोे हो । यसैगरी धनुषा जिल्लाको सबैला नगरपालिका १३ स्थित रघुनाथपुरबाट माघ १२ गते सशस्त्र प्रहरीले ८ वटा प्रोक्सिन प्लस ट्याब्लेटसहित दुई जनालाई
पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको गणेशमान चारनाथ नगरपालिका ६ गोदार बस्ने २२ वर्षिय अभय सहनी र सोही नगरपालिका ५ टाँडी बस्ने १८ वर्षिय ओमराज रानामगर छन् । सबैलाबाट बिरेन्द्रबजारतर्फ जाँदै गरेको प्रदेश १–०२–०४१ प ३९३ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश रघुनाथपुरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त लागूऔषध फेला परेको हो । त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाईकसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।