२०७९ श्रावण २९ , आइतवार

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८०

सुनाखरी न्युज/ काठमाडौं –

नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । केन्द्रीय तथ्यांक विभागले बुधबार  नेपालको जनगणना -२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै नेपालको जनसंख्या करिब ३ करोड पुगेको जनाएको हो ।

तथ्यांक विभागले नेपालको जनसंख्या वृद्धिदर घटेको जानकारी दिएको छ । यो वर्षको जनगणनाबाट विगत ८० वर्ष यताकै न्यून जनसंख्या वृद्धिदर पाइएको विभागले जनाएको छ । वि.स. २०६८ सालको जनगणनामा नेपालको कुल जनसंख्या २ करोड ६४ लाख हाराहारी थियो । यो वर्षको जनगणनाबाट २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको पाइएको छ । २०६८ सालको जनगणनामा वृद्धिदर १.३५ प्रतिशत थियो ।

विसं १९९८ को जनगनणायता पहिलो पटक नेपालको जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा कम कायम भएको विभागले जनाएको छ । विभागले तथ्यांक सार्वजनिक गर्नेक्रममा प्रक्षेपणअनुसार जनसंख्या वृद्धि नभएको पाइएको बताएको छ ।