२०७९ श्रावण २२ , आइतवार

कफ्लिनीको कण्ठ र देउवाको सरकार !!

प्रेम चौलागाई – धेरै पहिलाको कुरा हो। म सानै थिए। पल्लो गाउँमा तिल विक्रम कार्की नामका धनीमानी सज्जन की छोरीको विवाह रहेछ। आमाको साथमा विवाहमा म पनि गएको थिएं। एकजना कफ्लिनी आमै मुगाको चोली ,रेसमी वर्को ,छिटको साडी ,१२ हाते पटुकी ,कान मा चेप्टे सुन र १० तोलाको हुनु पर्छ सुनको कण्ठ लगाएर विवाहमा आईन । सबैको नजर उनै माथि पऱ्यो। साथमा एकजना महिला आएकी थिईन । हेर्दा उनी साधरण देखिन्थिन ।

 

पुग्ने साथ दुवैलाई खाजा नास्ता खान भनेर घरको तल्ला माथि चढाए। आमा र मलाई पनि संगै लगे। लाईनमा बस्यौ । दही चिउरा रोटी आलुको तरकारी पाकेको दुईटा केरा कसार सबैको भागमा थियो तर तर कफ्लिनी आमैलाई झर्के थालमा चिउरा केरा पनि ५ओटा ,मासुको पक्कु ,रोटी अचार हेर्दा ८४ व्यञ्जन जस्तो थियो । उनीलाई एक्लै राडीमा र अरु सबैलाई गुन्द्रीमा राखेको थियो।

 

जब हामी खाना थाल्यौ कफ्लिनी बजै भने फुर्ति का साथ ठूला ठूला गाँस हाल्न थालिन। मानौ हङ्ग्रायो ले पाङ्ग्रा निले जस्तो गरेर खान थालिन। उनलाई लाज सरम केही थिएन। उनलाई थप्नेहरु ४जना लाईनमा बसेका थिए । म्याई नभ्याई थियो थप्नेलाई पनि। त्यतिकैमा संगै आएकी महिलालाई खपी खानु भएनछ । आफू भने एक मुठी चिउरामा चित्त बुझाउनुपर्ने तर संगै आएकी लाई ८४ व्यन्जन ! अति भएछ उनलाई। उनले भनिन् बजै अलि सानो गाँस हाल्नु न घाँटी फुलेर कण्ठ चुडियो भने मलाई घरकाले मार्छन। मुखमा लादै गरेको गाँस बाटैमा रोकेर सबैलाई हेरिन । थप्नेहरु पनि छक्क थिए। उनी लाजले रातो पिरो भईन। त्यो कण्ठ त्यही खोलेर ला तेरो कण्ठ तै ला भन्दै उठेर घर तिर लागिन । सबै गलल्ल हासे। विवाहभरी त्यही सवैले कण्ठको कुरा गरे। डाँडो खोलो हलियो। सबैलाई थाहा भयो।

 

त्यसपछि सबैले भन्न थाले साडी मेरो हो चोली मेरो हो रेशमी वर्को मेरो हो। वास्तवमा उनको त लाज छोप्ने एक धरो कपडा नी रहिन रहेछ। गाउ भरी मागेर लगाएकी रहिछन्। त्यसपछि त्यो कण्ठ कसैले मागेर लाउने हिम्मत गरेनन्। आज यो घटना नेपालको राजनीतिमा ठयाक्कै मिल्छ । देउवाको मान सम्मान जति गरे पनि त्यो कण्ठ माधव नेपालको हो। साडी उपेन्द्रको हो। चोली चित्र बहादुरको हो। रेसमी वर्को झाक्रीको हो। यस्तै यस्तै . गाउँभरी मागेर लाउने दिन देउवाको पनि आयो। भान्से प्रचन्ड हुन।

 

ऐले चुनावको लागि कांग्रेस ( देउवा) अलि बढी आँ गर्न मात्र के खोजेका थिए माधवले घाँटी फुलेर कठ्ठ चुडिएला भन्दिए। भान्से प्रचण्डले खाना थप्नै रोकेर रातो पिरो बनाई दिए । स्थानीय चुनाव गरौ भने माधवले कठ्ठ चुडिएला भनि सके। यसवेला कफ्लिनी आमैलाई परेको चोट देउवालाई परि रहेको होला ? आफ्नो भन्ने लाज छोप्ने टालो पनि छैन रहेछ देउवा संग । मागेका लुगा र कण्ठले लाज छोप्नुको सट्टा व्यईजत गऱ्यो। तर देउवालाई के को व्यईजत ? कस्ले बुझ्ने ???